हिन्दी फिल्म देखाएर विकास बोर्डका कर्मचारीले तलब पाउँछन् : नीर शाह
काठमाडौं : कलाकार नीर शाहले चलचित्र विकास बोर्डका कर्मचारीले हलमा हिन्दी फिल्म देखाएर त्यहाँबाट आएको पैसाले तलब खाइरहेको बताएका छन्।
ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको ‘एक्काइसौं शताब्दीमा रील : नेपाली सिनेमाको विकास’ सत्रमा बाेल्दै कलाकार शाहले यस्तो बताएका हुन्।
‘अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन्,’ उनले भने, ‘ अध्यक्षले पाउने ६२ हजार ३ सय ८८ रुपैयाँ हिन्दी चलचित्र सिनेमा देखाएवापत् प्राप्त गरेको रकम हो। यसलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो।’
कलाकार शाहले २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ-नयाँ बेथिति थपिएको भन्दै नेपाली सिनेमाको ओरालो यात्रा सुरु भएको बताए।
०४२ सालदेखि सरकारले दिएको अनुवाद चलचित्र विकास बोर्डको स्थापनापछि बन्द भएको उनले बताए।
‘७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्मबजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर बजार ८० प्रतिशतमा उक्लनुको मूल कारण पनि यही हो। त्यसलाई बन्द गर्न केही चलचित्रकर्मीले ०५८ सालमा एउटा सम्झौता गर्नुभयो,’ उनले भने, ‘राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो। विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो। विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो।’
फिल्म क्षेत्रमा सरकारको उदासीनताबारे सम्झँदै उनले भने, ‘राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो। २०४२ देखि ०५८ सालसम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो। मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो।’
तुलसी घिमिरे निर्देशित फिल्म ‘लाहुरे’ले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रकम मनोरन्जनबाट वापत पाएको उनले बताए।
भदौ १७, २०८० आइतबार २०:५४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।