एसिया कप : बंगलादेशले अफगानिस्तानलाई दियो ३३५ रनको लक्ष्य, राशिद खान विकेटविहीन

एसिया कप : बंगलादेशले अफगानिस्तानलाई दियो ३३५ रनको लक्ष्य, राशिद खान विकेटविहीन

काठमाडौं : एसिया कप क्रिकेटमा आइतबारको खेलमा बंगलादेशले अफगानिस्तानलाई ३३५ रनको लक्ष्य दिएको छ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा भएको खेलमा निर्धारित ओभरमा पाँच विकेट गुमाएर बंगलादेशले ३३४ रन बनाएसँगै अफगानिस्तानले ३३५ रनको लक्ष्य पाएको हो।

बंगलादेशका लागि मेहदी हसन मिराज ११२ रन बनाएर रिटायर्ड हर्ट भए भने अर्का ब्याट्सम्यान नजमुल हुसेन सान्तोले १०४ रनको शतकीय पारी खेले।

मोहम्मद नैमले २८, मुस्फिकुर रहीमले २५, समीम हुसेनले ११ र टाउहिड ह्दोय शून्य रनमा आउट हुँदा सकिब अल हसन र अफिफ हुसेनले नटआउट रहँदै क्रमशः ३२ र ४ रन बनाए।

बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान र गुल्बादिन नैबले समान एक–एक विकेट लिए। बंगलादेशका तीन खेलाडी रनआउट भए। विश्वभरका लिग खेलेर नाम चम्काएका स्पिनर राशिद खान विकेटविहीन रहे।

अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि बंगलादेश एसिया कपमा आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो। अफगानिस्तानको यो पहिलो खेल हो।

भदौ १७, २०८० आइतबार १९:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।