सोचेभन्दा तेज बल आउँदा हामी हडबढायौँ : सोमपाल कामी

सोचेभन्दा तेज बल आउँदा हामी हडबढायौँ : सोमपाल कामी

काठमाडौं : नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामीले सोचेको भन्दा तीव्र गतिमा बल आउँदा पाकिस्तानसँगको खेलमा नेपाली खेलाडीहरू हडबढाएको बताएका छन्।

एसिया कपका लागि हाल श्रीलंकामा रहेका उनले क्रिकेट एसोसिएसन नेपालको अफिसियल भिडियोमार्फत् बल तीव्र गतिमा आउँदा खेलाडीहरू हडबडाएर दोस्रो इनिङ बिग्रिएको बताए।

उनले भने, ‘हामीले ४० ओभरसम्म राम्रो गरेका थियौं। फिल्डिङमा मिस्टेक गर्यौँ। किनकि हामीले सोचेभन्दा तेज बल आयो। बलिङमा मेरो एउटा ओभर बिग्रियो।’

सोमपालले पाकिस्तानी कप्तान बाबर आजमको विकेट लिन ढिलो गर्दा आफूहरू दवावमा परेको बताए। आजमको विकेट सोमपालले नै लिएका थिए।

अनुभव सुनाउँदै उनले थपे, ‘बाबर विश्वकै नम्बर वान ब्याटर हुन्। उनको विकेट लिँदा एकदमै ढिलो भइसकेको थियो। ऊ स्मार्ट प्लेयर हो। उसले खेल अन्तिमसम्म लिएर गयो। उसले बेसिक सट र  राम्रो तार्गेटसम्म लग्यो। त्यसबाट हाम्रा खेलाडीले सिक्नेछन्।’

उनले भारतसँग खेल्न उत्साहित रहेकोसमेत बताए।

उनले अगाडि थपे, ‘भारतसँग निकै खेल्नका लागि म निकै सकारात्मक छु।  हामी राम्रो गर्न सक्छौं। सबै उत्साहित छन्। म पनि उत्साहित छु।’

नेपालले सोमबार भारतसँग खेल्दैछ। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो।

भदौ १७, २०८० आइतबार १८:४८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।