एमाले लुम्बिनी प्रदेश अधिवेशन : मापदण्ड तयार नहुँदा नेतृत्व चयनमा अन्यौलता, सहमतिमै टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मापदण्ड तयार नहुँदा नेतृत्व चयनमा अन्यौलता, सहमतिमै टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन

बुटवल : बुटवलमा जारी एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मापदण्ड तयार नहुँदा अन्यौलता देखिएको छ। 

निर्वाचन प्रक्रियाका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदा पनि थप प्रक्रिया अघि बढाउन मापदण्ड तयार नहुँदा नेतृत्व चयन रोकिएको निर्वाचन मण्डलका अध्यक्ष हरिप्रसाद भण्डारीले बताए।

उनका अनुसार १ हजार ४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी विरोधको लागि आह्वान गरिएको छ।

थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको सङ्ख्या तथा पद बारे टुङ्गो नलागेको उनले बताए । 

‘दुई सय पाँच जनाको कमिटी गठन गर्न भनिए पनि अध्यक्ष बाहेक अन्य पदाधिकारी के-कति रहने भन्ने एकिन गर्नका लागि आयोजकले थप एक घण्टाको समय मागेका कारण रोकिएको छ’, उनले भने।

आगामी नेतृत्वका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजाल आकंक्षीको रुपमा देखिएका छन्। 

एमाले अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किए पनि अन्नतः चुनाबी प्रक्रियामै गएर नेतृत्वको टुङ्गो लगाउने सम्भावना रहेको सहभागी प्रतिनिधिहरुले बताएका छन्।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार प्रतिनिधिहरु सहभागी छन्।

अधिवेशनले पाँच सय ७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई दुई सय पाँच  सदस्यीय बनाउनेछ। 

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट एक सय ३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्। 

त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा एक हजारचार जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए।

एमालेलेको सबैभन्दा पहिला लुम्बिनी प्रदेशमा अधिवेशन गरेकाले अन्य प्रदेशमा पनि चासोका साथ हेरिएको छ ।

भदौ १७, २०८० आइतबार १४:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।