‘जवान’ ले राम्रो शो पाउने भएपछि स्वस्तिमाको आक्रोस : ‘प्रदर्शक आफैँ फिल्म किन्छन्,आफैँ देखाउँछन्’
काठमाडौं : यहि बिहिबारबाट बलिउड फिल्म ‘जवान’ रिलिज हुँदैछ। यो फिल्मको शोज अधिकांश मल्टिप्लेक्सले खोलिसकेका छन्। नेपालमा ठूला विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन्। यसपटक पनि ‘जवान’का कारण यो बिहिबारबाट रिलिज भएका ‘ऐँचो पैँचो र गणपति’लाई दोश्रो सातामा प्रदर्शकले पेल्ने अवस्था देखिन्छ।
दोश्रो सातामा यी फिल्महरुले शो नै नपाउने अवस्था सिर्जना भैरहेको छ। शोज खुलाएका अधिकांश मल्टिप्लेक्सको तयारी हेर्दा दोश्रो सातामा नेपाली फिल्मका लागि शोज नै नहुने पक्का जस्तै छ।
आखिर, यो खालको विकृती किन नेपालमा सिर्जना भैरहेका छन्। यो बिषयमा नायिका स्वस्तिमा खड्का भन्छिन्, ‘यहाँ प्रदर्शकले नै फिल्म किन्छन्, आफैँ फिल्म देखाउँछन्। हुनत, उहाँहरुको पनि व्यापारको कुरा होला। तर, आफैले फिल्म ल्याएपछि त अरु फिल्मको ५० प्रतिशत अकुपेन्सी भएपनि शत प्रतिशत अकुपेन्सी हुने फिल्म रिलिज हुने नै भए। प्रदर्शकले नै फिल्म किन्ने कुरामा प्रोटोकल लागु गर्नुपर्छ जस्तो मलाई लाग्छ।’
स्वस्तिमाले आज ‘जवान’, भोली ‘सलार र टाइगर ३’ रिलिज हुँदा पनि नेपाली फिल्म पेलिनुपर्ने अवस्था आउने बताइन्। उनले अगाडी थपिन्, ‘सबै फिल्म प्रदर्शकले नै ल्याउने भएपछि हिन्दी फिल्मले पेल्ने नै भए। यसले झनै गाह्रो हुने अवस्था आएको हो।’
भदौ १७, २०८० आइतबार १३:३८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।