‘गणपति’ फिल्म समीक्षा : मेनुकाको फ्यानले हेरे हुन्छ, मुकुनको अभिनयका लागि नहेरे नि हुन्छ
काठमाडौं : फरक गर्ने भन्दैमा कसैले टोपी खुट्टामा अनि जुत्ता टाउकोमा लगाउँदैमा प्रशंसा हुन्छ र! हुँदैन। हो, यस्तै देखियो फिल्म ‘गणपति’मा।
कथामा नयाँपन ल्याउने प्रयास त भयो तर कथ्यशैलीमा फरकपनको प्रयास भएको देखिएन। सामान्य विषयवस्तु भए पनि मजाका फिल्म बनेका छन्। यो फिल्मको कथावस्तु पनि सामान्य नै छ। कथा जति सामान्य छ फिल्म पनि उस्तै सामान्य बनिदियो।
गणेशको मुर्तिले दूध खायो भनेर कचौरामा दूध बोकेर लाइन लाग्नेसम्मका दृष्य सामान्य बनेको समाजमा सुँड आकारको नाक लिएर कुनै बालक जन्मिए गणेशकै अवतार भनेर पुज्नु नौलो भएन। सके नामै गणेश पनि राखिदिन्छन्। भक्तजनको भिड लाग्न थाल्छ।
बिहिबार रिलिज भएको फिल्म गणपति यस्तै कथामा बनेको फिल्म हो।
तर नाम सुन्दा धार्मिक फिल्म जस्तो लागे पनि यो धार्मिक फिल्म होइन। गणेश भगवानकै जस्तो नाक लिएर जन्मिएका ‘गणपति’ अर्थात् मुकुन भुसाल वरिपरी फिल्मको कथा घुमेको छ।
छोराछोरी नभएपछि बुढेसकालमा सन्तानको माग गर्दै तीर्थव्रत धाउने दम्पती, नाकमा पलाएको ट्युमरलाई सुँड भन्दै भगवान ठान्ने समाज, पहिला सम्मानित पछि अपमानित हुने युवाको मनोदशा, दाजुभाइबीचको सम्बन्ध, यस्तै विषयको वरपर फिल्म घुमेको छ।
गणपति बनेका छन् मुकुन भुसाल। सूर्यमाला शर्मा र प्रकाश घिमिरे गणपतिका बाबुआमा। मेनुका प्रधान, राजाराम पौडेल, अंशु शर्मा, देवेन्द्र बब्लु लगायतका कलाकार छन्। स्वर्गीय जयनन्द लामाले अभिनय गरेको यो अन्तिम फिल्म हो।
अभिनयका दृष्टिले कलाकारहरूले ठीकठाककै अभिनय गरेका छन्। मुकुनले पनि ठीक्कै अभिनय गरे। उनको सोलो अभिनय रहेको यो फिल्मले ‘बुलबुल’को ‘चोपेन्द्र’ बिर्साउने मुकुनको आश थियो। त्यसमा उनी निरास भए हुन्छ।
मेनुकाले आफ्नो पात्रलाई न्याय दिने प्रयास गरेकी छिन्। बब्लुले कि अभिनयको प्रशिक्षण लिनुपर्यो कि अभिनयको रहर छाड्नुपर्यो। शर्मा र घिमिरेको अभिनय राम्रै छ।
निर्देशकले एक गल्ती नगरेको भए फिल्म हेर्न लायकसम्म हुनसक्थ्यो। फिल्मको समय तन्काउने लोभमा निर्देशक फस्दा फिल्म नहेरे पनि केही मिस हुनेवाला छैन।
निर्देशक सबिन अधिकारी नै यसको कथा र पटकथाकार भएकाले यो सबै एकल अपजस उनकै एकल स्वामित्वको हो।
उनले फिल्मको सिन लम्ब्याउनकै लागि अनेक अनेक दृश्य जोडेकाले दर्शकलाई हलबाट बीचैमा उठौं-उठौं बनाउँछ। अनावश्यक सिनले फिल्म अल्छी लाग्दो बन्यो।
आधा घण्टा जतिको झारपात मिल्काएको भए दर्शकले हलमा हाई-हाई गरेर बस्नुपर्ने अवस्था नआउन सक्थ्यो। साढे दुई घण्टाको फिल्म बनाउने चक्करमा फसे निर्देशक।
पात्रलाई गाली खुवाएकै भरमा फिल्म चल्ने भए फिल्मको नाम गणपति नराखि गालीपति राखे भइहाल्थ्यो। उता फिल्ममा गणपतिले बाउको गाली खाँदा यता हलमा निर्देशकले दर्शकको गाली खाइरहेका थिए।
फिल्मको राम्रो पक्ष भनेको कमेडी र सिरियस दुवै दृश्य समेटेर घरी भावुक बनाउने अनि घरी हँसाउने शैली नै हो।
मुखियाको चम्चेले दर्शकलाई भावुक बनाइ राख्दैन। उनका संवाद रमाइला छन्। गणपतिले बेलाबखत आँखा रसिलो बनाउने प्रयत्न त गर्छन्। तर परेली भिजाउन सक्दैनन्। गणपति र साथीबीचको केही दृश्य भने केही राम्रा छन्।
मेनुकाको जति दृष्य छन् उनले आफ्नो अभिनयले त्यसलाई यादगार बनाउन सक्दो प्रयास गरेकी छन्।
संवाद चोटिला र मौलिक छन्। फिल्मको अर्को सुन्दर पक्ष भनेको गीत संगीत हो। यसमा समावेश गीतहरू कथा बगे अनुसार नै बगेका छन्। दर्शकले कथा अनुसार नै गीत पाउँछन्।
फिल्मको छायांकन पक्ष राम्रै छ। यतिको खिचाइलाई झुर भनिनहालौं। क्यामेराम्यानले राम्रै मेहनत गरेको देखिन्छ।
वास्तवमा समस्या भने निर्देशकमै देखियो। फिल्म हेर्नैपर्ने सूचीको बन्नसक्थ्यो। दुई घन्टा भन्दा छोटो पनि फिल्म हुन्छ र भन्ने निर्देशकको भ्रमले फिल्म डुबायो। उनको त्यही भ्रमले फिल्म ‘हेरे पनि ठीकै, नहेरी नि ठीकै’ सूचीमा पर्यो।
मेनुकाको फ्यानले फिल्म हेर्दा हुन्छ। मुकुनको फ्यानले नहेरे नि हुन्छ।
अब टाउकोमा जुत्ता अनि खुट्टामा टोपी लगाउँदा ‘वाह क्या मौलिक!’ भन्ने हो भने रामराम भन्न सकिन्छ। एउटा टिकटको मूल्यमा हलै बूकिङ गरे झैं माहौलमा फिल्म हेर्दै यातना सहन त सकिंदैन।
हाम्रो तर्फबाट गणपति टिमलाई यस पटकलाई रामराम। अर्को पटकका लागि निर्देशक र मुकुनलाई बेस्ट अफ लक।
भदौ १७, २०८० आइतबार १३:५९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।