विश्वकप छनौट : भुटानमाथि नेपालको संघर्षपूर्ण जित

विश्वकप छनौट : भुटानमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं : नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्रको छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेकाे छ। यो जितसंगै नेपालसमूह ए को शीर्षस्थानमा उक्लिएको छ।

जितको लागि ४० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन्।

कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन्।

कविता कुँवर, अश्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भइन्। सीता रानामगर ११ बलमा चौकासहित ८ रनमा आउट भइन्। पुजा महतो १० बलमा ३ रनमा आउट भइन्।

भुटानकी अन्जुली घलेले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन्। अन्जु गुरुङले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर १ विकेट लिइन्। क्षिरिङ जांग्मोले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन्।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो।

भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अव मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ। 

भदौ १७, २०८० आइतबार १०:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।