कैलाश-मानसरोवर यात्राको क्रेज (तस्बिरहरू)

कैलाश-मानसरोवर यात्राको क्रेज (तस्बिरहरू)

रसुवा : रसुवागढीमा रहेको नेपालको अध्यागमनको कार्यालयमा बिहानैदेखि कैलाश-मानसरोवर जाने तीर्थयात्रीको भिड लागेको छ।

रसुवा र चीनको सीमा टिमुरेमा रहेको अध्यागमनको कार्यालयमा प्रक्रिया पूरा गर्न तीर्थयात्रीहरूको बिहान साढे सात बजेदेखि नै लाइन सुरु भएको हो। 

नेपाली अध्यागमनमा डिपार्चरको काम सकिएपछि साँढे ११ बजेबाट प्रक्रिया सुरु हुने बताइएको छ।

टिमुरेमा नेपालीको संख्या दुई सय हाराहारीमा छन्। भारतीय नागरिकलाई कैलाश-मानसरोवर प्रवेशमा रोकेकाले भारतीय पर्यटक छैनन्। तर गैर आवासीय भारतीय नागरिकको संख्या ५० हाराहारीमा छ। 

स्थानीय बुद्ध गुरुङका अनुसार यो सिजनमा आउने नेपालीको संख्या उच्च छ। भारतीय भने आएकै छैनन्। 

‘भारतीय पर्यटक आएका भए त बजारै भरिन्थ्यो। होटलमा कोठै पाइँदैनथ्यो। यो पाली उनीहरूलाई जान नदिएकाले आएका छैनन्,’ उनले भने।

नेपाली र गैरभारतीयको हकमा भने ट्राभल एजेन्सीले समूह लिएर आएका छन्। यस यात्राका लागि एजेन्सीले प्रतिव्यक्ति एक लाख ५० हजार शुल्क लिने गरेका छन्। 

१००८ स्वामी हरिहरानन्द महराजको नेतृत्वमा ७२ जनाको टोली मानसरोवर यात्रामा हिंडेको छ। केरुङ हुँदै मानसरोवर पुगेर काठमाडौं फर्कन १० दिन लाग्छ।

भदौ १७, २०८० आइतबार ०९:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।