भारत र पाकिस्तानबीचको खेल रद्द, सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनैपर्ने

भारत र पाकिस्तानबीचको खेल रद्द, सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनैपर्ने

काठमाडौं : एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ।

वर्षाका कारण २६७ रनको लक्ष्य पाएको पाकिस्तानले ब्याटिङ गर्न नपाएपछि दुई देशबीचको खेल रद्द भएको हो।

रद्द भएसँगै दुवै टीमले एक–एक अंक बाँडेका छन्। योसँगै पाकिस्तान तीन अंकसहित सुपर फोरमा पुगेको छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो।

अब सोमबार हुने नेपाल र भारतबीचको विजेताले सुपर चारमा स्थान बनाउनेछ। सुपर फोरमा पुग्नका लागि नेपालले सोमबारको खेल जित्नैपर्ने दबाव छ।

यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ।

शनिबार श्रीलंकाको पेल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो।

उसका लागि इसान किशान र हार्दिक पाण्ड्याले क्रमशः ८२ र ८७ रनको अर्धशतकीय पारी खेले।

जसप्रित बुमराहले १६, रविन्द्र जडेजा र श्रेयस अय्यरले समान १४ रन बनाउँदा रोहित शर्माले ११, शुभमन गिलले १० रन जोडे।

कुलदीप यादव र विराट कोहलीले समान ४ रन बनाउँदा शार्दुल ठाकुरले ३ र मोहम्मद सिराजले नटआउट १ रन बनाए।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफरिदीले चार तथा नसीम शाह र हरिश रौफले समान तीन–तीन विकेट लिए।

भदौ १६, २०८० शनिबार २२:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।