डा. समीरको अनुभव : कोरोना कालका ती कहालीलाग्दा क्षण
डा. समीरकुमार अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचइओसी)’को प्रमुख र सह–प्रवत्ताको जिम्मेवारीमा छन्।
डा. समीर सन् २०१९ को डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमणको महामारी सुरू भएयता निरन्तर यी दुवै जिम्मेवारीमा कार्यरत छन्। डा.समीरले कोरोनाकालमा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
कोरोना कालका ती कहालीलाग्दा क्षणहरू
कोरोना भाइरस संक्रमणको सुरुवाती दिनदेखि नै क्वारेन्टाइन, कोभिड परीक्षण, अक्सिजन अभाव, उपचार व्यवस्थापन लगायतका चुनौतिको समाधानको पहलका लागि डा. समीरलाई फोन आउँथ्यो।
विशेषगरी कोरोना भाइरस संक्रमणको दोस्रो लहरको समयमा अक्सिजनको व्यवस्थापन निक्कै चुनौतीपूर्ण बनेको उनको अनुभव छ।
कोरोनाको सुरुवाती चरणमा स्वास्थ्यकर्मी तथा आम व्यक्तिबाट फोन आउने अनि कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा विशेषगरी अस्पतालबाट धेरै फोन आएको उनी सम्झन्छन्। कतिपयले त रुँदै फोन गरेको उनी अझै सम्झन्छन्।
‘रुँदै डाक्टरसाप हाम्रो त बिजोग छ भनेर स्वास्थ्यकर्मीको फोन आउँथ्यो,’ उनले सुनाए, ‘कोभिडमा अक्सिजनको क्राइसेस व्यवस्थापन गर्न निक्कै कठिन भएको थियो।’
अक्सिजनको अभावको समयमा अस्पतालहरूबाट ‘डाक्टरसाप यति अक्सिजन भयो भने यतिजना मान्छे बचाउन सक्छौँ, अक्सिजनको व्यवस्थापन गरिदिनुहोस्, यति अक्सिजन व्यवस्थापन नभए आज यति जना संक्रमितलाई बचाउन सक्ने अवस्था छैन’ भन्ने फोन आउँथ्यो उनलाई। त्यो अवस्था सम्झँदा डा. समीरलाई अझै काहाली लाग्छ।
‘त्यो एक हप्ता म कहालीलाग्दो सम्झन्छु’, उनले सुनाए।
यतिसम्मकी सुरुवाती चरणमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव कहाँ राख्ने भन्दै स्वास्थ्यकर्मीले फोन गरेको उनी सम्झन्छन्। त्यसो त कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा कतिपय अस्पतालले कोरोना संक्रमित बिरामीलाई उपचार नै गर्न नमानेको भन्दै संक्रमितका आफन्तले फोन गरेको घटना समेत डा. समीरको मानसपटलमा ताजै छ।
यसरी आएका गुनासो तथा त्रासको समस्या समाधानका लागि उनले परामर्श दिन्थे। यस्ता फोन आउँदा उनी समन्वयको प्रयास गर्थे र समस्या समाधानको लागि सम्बन्धित निकायमा कुरा राख्थे।
विशेषगरी दोस्रो लहरको समयमा त पशुपतिमा शवदाह गर्ने ठाउँको अभावका कारण बागमती खोलैमा ठाउँ बनाएर शवदाह गर्नुपरेको थियो। पशुपतिको बागमती नदीमा संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव जलाउँदाको दृश्य निक्कै कहालीलाग्दो थियो।
डा. समीरले अस्पतालमा संक्रमितको मृत्यु भएको नजिकबाट देखेका छन्। त्यस्ता घटना सम्झँदा आफूले पनि केही गर्न सकिनँ की भन्ने सोचले उनलाई अझै दिक्क लाग्छ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा १२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। अहिले पनि संक्रमण निर्मूल भइसकेको अवस्था छैन। कोरोना भाइरस संक्रमणका ती कहालीलाग्दा क्षणहरू डा. समीरलाई सम्झन पनि मन लाग्दैन। ती क्षण सम्झँदा उनलाई ग्लानी हुन्छ।
कतिपय अवस्थामा त कोरोना भाइरस संक्रमण व्यवस्थापन गर्नु स्वास्थ्यकर्मीकै काम हो भन्ने सोचका कारण कोरोना भाइरस संक्रमणको रोकथाम तथा व्यवस्थापनमा निक्कै चुनौतीपूर्ण भएको उनको अनुभव छ।
तर, विस्तारै सबै नियकाले कोरोना भाइरस संक्रमणको रोकथाम र व्यवस्थापनमा सक्रिय हुँदा यसको व्यवस्थापनमा सहज हुँदै गएको उनको अनुभव छ। कोरोना भाइरस संक्रमणको महामारीबाट नेपालले पूर्व तयारीको विषय थप सिकेको र सम्भावित महामारीको व्यवस्थापनमा यो महामारीले सिकाएकोे उनले बताए।
जन्म सर्लाही, रोजाइमा चिकिसक
अब डा. समीरको जीवनको यात्राको सुरुवाती आरोह अवरोहको विषयबाट चर्चा गरौँ।
समीरको पुर्ख्यौली घर रामेछाप हो। तर, उनी सर्लाहीको लालबन्दीमा जन्मिए र त्यहीँ हुर्किए। उनले स्थानीय जनज्योति माविबाट २०५५ मा एसएलसी गरे भने वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट आइएस्सी सक्याए।
समीरलाई डाक्टर पढ्ने इच्छा थियो। त्यसैले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा सन् २००१ मा आयुर्वेद तथा सर्जरी विषयमा स्नातक तहको अध्ययन गर्न थाले। सन् २००७ मा उनको अध्ययन पूरा भयो।
डा. समीर २०६६ मा लोकसेवामार्फत सरकारी स्थायी आयुर्वेद चिकित्सकका रूपमा आठौँ तहका जागिरे भए। सरकारी जागिरे भएपछि उनी पोस्टिङ भएर सोलुखुम्बु जिल्लाको जिल्ला आयुर्वेद अस्पताल पुगे। त्यहाँ डेढ वर्ष काम गरेपछि उनी सरुवा भएर काठमाडौंको स्वास्थ्य सेवा विभागमा आए।
त्यसपछि डा. समीरले चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा नै जनस्वास्थ्य (मास्टर्स इन पब्लिक हेल्थ/एमपीएच) विषयमा स्नातकोत्तर तहको अध्ययन गरे।
उनले चिकित्सा तथा जनस्वास्थ्य र नीति निर्माणलगायतका विषयमा दर्जनौं तालिम लिएका छन्। डा. समीर २०७४ मा जनस्वास्थ्यतर्फ स्वास्थ्य प्रशासकका रूपमा नवौं तहमा बढुवा भए। त्यसपछि टेकुस्थित तत्कालीन बाल स्वास्थ्य महाशाखामा केही समय काम गरे।
बालस्वास्थ्यपछि उनले करिब दुई वर्ष टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गरे।
कोरोनाको सुरुबाटै सक्रिय भूमिका
टेकुपछि समायोजन भएर डा. समीरको २०७६ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदस्थापन भयो। मन्त्रालय आउने बित्तिकै उनी वरिष्ठ स्वास्थ्य प्रशासकका रूपमा बढुवा भए।
मन्त्रालयमा आएपछि डा. समीरले मन्त्रालयको समन्वय महाशाखाको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखको रूपमा काम गरिरहेका थिए।
डा. समीर स्वास्थ्य मन्त्रालयमा सरुवा भएको करिब चार महिनामा सन् २०१९ डिसेम्बरको अत्यमा कोरोना भाइरस संक्रमण सुरू भयो। त्यसपछि भने उनी पनि कोरोना भाइरस संक्रमण तथा संक्रमितको व्यवस्थापनमा खटिन थाले।
हुन त २०७४ यता डा. समीरले रोगको प्रकोप तथा महामारी, प्रकोप तथा महामारी नियन्त्रणको पूर्वतयारी र व्यवस्थापन, जोखिम सञ्चार जस्ता विषयमा प्रत्यक्ष संलग्न भएर काम गर्दै आएका थिए।
उनको त्यो ज्ञान तथा अनुभव कोरोना संक्रमणको महामारीमा निक्कै उपयोगी भयो। कोरोना भाइरस संक्रमणको व्यवस्थापनसम्बन्धी विभिन्न माध्यमबाट आउने जिज्ञासाको समाधानका लागि स्वास्थ्य मन्त्रालयले सुरुवाती चरणमा तीन वटा मोबाइललाई हटलाइन सेवा दिनेगरी सुरू गरेको थियो। तीन वटा मोबाइलमध्ये एउटा मोबाइल फोन बोक्नेमा डा. समीर पनि थिए।
कोरोना भाइरस संक्रमण बढ्दै जाँदा फोन आउने क्रम पनि बढ्दै गयो। यतिसम्मकी उनलाई फोन उठाउन समेत नभ्याउने स्थिति सिर्जना भयो। उनी लगायत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलगायतलाई कामको चाप पनि बढ्दै गयो नै।
त्यसैले संक्रमणको जोखिम बढ्न थालेको देखिएपछि डा. समीरलाई स्वास्थ्य मन्त्रालयले २०७६ मा सहप्रवक्ता र ‘स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र (एचइओसी)’को प्रमुखको जिम्मेवारी दियो।
एचइओसीको संरचना स्वास्थ्य मन्त्रालयमा छँदै थियो। कोरोनाको संक्रमणको जोखिम बढेपछि यो संयन्त्र थप सक्रिय बन्यो। उनले सक्रिय रूपमा कोभिड व्यवस्थापन लगायतको भूमिकामा समन्वय गर्दै आएका छन्।
कोरोना भाइरसको संक्रमणले व्यक्तिको जीवनको क्षतिले उनी दुःखी त छन् नै। तर, कोभिड व्यवस्थापनको समन्वयको सवालमा आफूले पाएको जिम्मेवारी सक्रिय र इमान्दार रूपमा वहन गरेको उनलाई महसुस हुन्छ।
डा. समीरले कामको जति नै भार भए पनि त्यसलाई जिम्मेवारी र कर्तव्यका रूपमा लिएर काम गरेका छन्। काम गरेको हौसला पाउँदा भने उनलाई निक्कै आनन्द लाग्छ।
‘अत्याधिक फोन आउँदा निन्द्रै लाग्न छोड्यो’
स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलगायत जसरी नै डा. समीरले पनि अहोरात्र खटिएर काम गरे। कोरोना भाइरस संक्रमणले उग्र रूप लिँदै गएको अवस्थामा त डा. समीर कतिबेला मन्त्रालयमा आएर काम गर्न थाल्थे अनि कति बेला छुट्टि हुन्छ भन्ने पनि बिर्सन्थे।
कोरोनाले उग्र रूप लिँदै गएका बेला बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म निरन्तर काम गरेका कयौं अनुभव छन् डा. समीरसँग। मन्त्रालयमा मात्रै हैन घरमा समेत नसुतेर काम गर्नुपर्ने अवस्था थियो।
यसरी निन्द्रै बिगारेर २४ घण्टाजसो मन्त्रालयको काममा खटिँदा कतिपय अवस्थामा त घर परिवार तथा आफन्तले ‘कसैले नखाएको जागिर तेरो’ भनेर उनलाई गाली गरेछन्।
कोरोना भाइरस संक्रमण बढ्दै जाँदा डा. समीरलाई यति धेरै फोन आउन थाल्यो की कानको छेउमा लगेर फोन उठाउन समेत उनलाई कठिन हुनथाल्यो। त्यतिमात्रै कहाँ हो र? २४सै घण्टा जसो फोन आएपछि फोन उठाएर कुरा गर्दा–गर्दा उनलाई निन्द्रा नलाग्ने समस्या समेत निम्तियो।
त्यसैले डा. समीरले कानमा नराखी मोबाइल टेबुलमा राखेर लाउड स्पिकरमा कुरा गर्न थाले। लाउड स्पिकरमा राखेर कुरा गर्दा एकातर्फ कानमा हुने समस्याबाट बचिने अनि अर्कोतर्फ कुरागर्दै काम गर्न समेत सकिने अवस्था थियो। लाउड स्पिकरमा राखेर कुरा गर्दा आफू वरिपरिका कर्मचारीलगायतले सुनेर प्रतिक्रिया दिनसमेत सहज हुन्थ्यो।
‘एउटा समय यस्तो थियो, फोनको घण्टी अत्याधिक बजेर निन्द्रा नलागेर गाह्रो भएको थियो,’ डा. समीरले सुनाए, ‘पछि फोन कानको नजिक लैजानै छाडेँ।’
त्यसो त डा. समीर पनि कोरोना भाइरस संक्रमणबाट अछुतो रहन सकेनन्। उनी पहिलो र दोस्रो दुवै लहरमा संक्रमित भए। पहिलो पटक संक्रमित हुँदा खोप नलगाएकाले उनलाई पनि अलि स्वास्थ्यमा असहजता भयो। तर, उनी अस्पताल भने भर्ना हुनु परेन।
त्यसैले आफू संक्रमित भएको अवस्थामा समेत निरन्तर काममा भने आइशोलेशनमा बसेरै खटिएको उनले अनुभव सुनाए। तर, मन्त्रालयको एचइओसीमा एउटा कर्मचारी नहुँदा अर्को कर्मचारीले कसरी काम गर्ने भन्ने संयन्त्र त्यो बेला नै बनाएको उनले अनुभव सुनाए।
छोराको साथीले तेरो बाबा त होनी कोरोना ल्याउने भनेको सुन्दा
कोरोना भाइरस संक्रमणका कारणको बारेमा जानकारी दिने उदेश्यले डा. समीर रिर्पोट तयार गर्ने, टेलिभिजनमार्फत प्रेस ब्रिफिङ गर्ने जस्ता काममा सुरुवाती दिनबाटै सक्रिय थिए।
उनले तयार गरेको प्रतिवेदन, उनलाई उद्धृत गरेर आएका समाचार र मन्त्रालयमा उनले टेलिभिजनमार्फत वाचन गरेको ब्रिफिङ डा. समीरका छोराका साथीहरूले पनि थाहा पाउँदा रहेछन्। अनि साथीहरूले छोरालाई भन्दा रहेछन्, ‘तेरो बाबा त हो नि कोरोना ल्याउने मान्छे त, अरुले ल्याउँदैनथ्यो।’
कलिलो छोराका साथीहरूले भनेको त्यस्तो कुरा सुन्दा बालमस्तिस्कको त्यो बुझाइले उनको मन चसक्क हुन्थ्यो। अहिले उनको छोरा नौ वर्षका भए।
कोरोना भाइरस संक्रमणको समयमा सक्रिय रूपमा घरबाहिर खटिनुपर्ने भएकाले स्वास्थ्य मापदण्डका उपाय अपनाउनुपर्ने अनि थकित भएको अवस्थामा पनि छोरा लगायत परिवारसँग नजिक भएर सँगै बस्न नपाउँदा उनको मन अलि अमिलो हुन्थ्यो।
त्यसैले ‘बाबाको जस्तो जागिर त खान्न’ भन्दै कलिलो छोराले गुनासो पोखेको सुन्थे डा. समीर। उनका कलिला नौ वर्षीय छोरा अहिले पनि बुवाको व्यस्तता देखेर भन्छन्, ‘म त कैले पनि डाक्टर बन्दिन, खान पनि नभ्याउने के जागिर खानु।’
कलिलो छोराको यस्तो गुनासो सुन्दा उनको पनि मन अलि चसक्क हुन्थ्यो।
झोलाको खाजा घरमै फर्किएपछि...
विशेषगरी कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेको समयमा डा. समीर बिहानै घरबाट खाना खाएर मन्त्रालय हिँड्थे। आमा र श्रीमतीले झोलामा खाजा हालिदिएका हुन्थे। तर, कामको चापका कारणले उनी धेरैजसो समय त खाजा खानै भुल्थे र भ्याउँदैनथिए पनि।
धेरैपटक घरबाट बोकेको खाजा घरैमा फर्किएपछि उनको परिवारले नबिग्रने किसिमको खाजा झोलामा हालिदिन थाले, ताकी नबिग्रिने खाजा घर फर्किए पनि भोली पर्सी खान मिलोस्।
कोरोना भाइरसको समयमा मात्रै हैन अरु बेला अधिकांश समय घरबाटै बोकेको खाजा खाने गरेको उनले सुनाए।
प्रेस ब्रिफिङले बनाएको सेलिब्रेटी डाक्टर
कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले नियमित जसो कोरोना भाइरस संक्रमणको अवस्थाका बारेमा जानकारी दिनका लागि बुलेटिनका रूपमा टेलिभिजनमार्फत प्रेस ब्रिफिङ गर्ने व्यवस्थाको सुरु गरेको थियो।
मन्त्रालयका प्रवक्ता नभएको अवस्थामा वा अन्य विभिन्न अवस्थामा डा. समीर कोरोना संक्रमणको विषयमा प्रेस ब्रिफिङ गर्थे।
बोल्न भन्दा लेख्न बढी रुचाउने डा. समीरलाई कोरानाको विषयमा ब्रिफिङ गर्दागर्दा बोल्ने विषयमा समेत पोख्त हुँदै गए। सानैबाट उनी सञ्चारमाध्यममा लेख रचना लेखेर पठाउँथे। अनि प्रकाशित हुन्थ्यो। यसमा उनको रुचि नै थियो।
सुरुवाती चरणमा स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटा र उनी डायरीमा टिपेर टिभीमा प्रेस ब्रिफिङ गर्थे। त्यसपछि टाइपिङ गरेर ब्रिफिङ गर्न थाले अनि थप प्रविधिको प्रयोग गर्दै स्क्रिप्ट लेखर कोरोनाको जानकारीको विषयमा ब्रिफिङ गर्दै जान थाले।
डा. समीरले सञ्चारसम्बन्धी थप ज्ञान तथा सीप समेत सिक्दै गए, जसले उनलाई सञ्चारको थप ज्ञान तथा सीपको विकास भयो। त्यसो त साथीभाइ तथा सहकर्मी लगायतले यो त पत्रकार नै हो नि भनेर उनलाई ख्याल ठट्टामा जिस्क्याउन समेत थाले।
कोरोनाको विषयमा प्रेस ब्रिफिङ गर्न थालेपछि त उनी सेलिब्रेटी चिकित्सककै रूपमा चिनिन थाले। सहप्रवक्ता भएका नाताले सञ्चारकर्मीसँग उनको निरन्तर समन्वय तथा संवाद हुने नै भयो।
सञ्चारमाध्यममा सही मनसायले बोलेको कुरा आम मान्छेसमक्ष पुग्दा आम मान्छेको नकारात्मक बुझाइ पो हुने हो की भन्ने विषयमा उनी सधैँ सचेत हुन्छन्। सामान्यतया आम मान्छेले सरकारी निकायमा बसेका कर्मचारीप्रति शंकाको दृष्टिले हेर्ने भएकाले सकारात्मक सन्देश दिने सवालमा निक्कै सचेत हुनुपर्ने उनको अनुभव छ।
मन्त्रालयको उच्च स्तरको बैठकको समन्वय गर्ने, एजेन्डा तय गर्ने, अनि निर्णयको मस्यौदालाई अन्तिम रूप दिनेजस्ता धेरै काममा उनको सक्रिय सहभागिता थियो। यी सबै अनुभव सम्झँदा डा. समीरलाई एउटा मोटो पुस्तक नै लेख्ने अनुभव बटुलेको महसुस हुन्छ।
कोरोना भाइरस संक्रमणको चुनौतीको समयमा काम गर्ने अवसर दिने स्वास्थ्य मन्त्रालय र कठिन परिस्थितिमा सँगै काम गर्ने एचइओसीको टिमप्रति जीवन पर्यन्त समेत आभारी हुने उनले बताए।
कोरोनाको समयमा मन्त्रालयले दिएको भूमिकामा काम गर्दा उनी धेरै ठाउँमा चिनिएका छन्। राज्यले दिएको भूमिकालाई आफूले कर्तव्य निष्ठ भएर कारिन्दाका रूपमा काम गरेको अनुभव डा. समीरले सुनाए।
भदौ १६, २०८० शनिबार २१:१३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।