नोबेल पुरस्कार समारोहमा रूस र बेलारुसका राजदूतलाई नबोलाइने

नोबेल पुरस्कार समारोहमा रूस र बेलारुसका राजदूतलाई नबोलाइने

एजेन्सी : नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ।

सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेनमा युद्धको कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो।

यद्यपि स्वीडेनको फाउन्डेसनले स्वीडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यासमा फर्कन लागेको बिहीबार बताएको थियो ।

फाउन्डेसनले शनिबार भनेको छ, ‘नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो।’

रूसी अधिकारीलाई कार्यक्रममा आमन्त्रित गर्ने निर्णयले विश्वव्यापी आक्रोश सिर्जना गरेको भन्दै फाउन्डेसनले रूसलाई बोलाउने आफ्नो निर्णयलाई सच्याएको हो।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहोर्याउन चाहन्छौँ अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय रद्द गरेका छौं।’

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमा लेखेका छन्, ‘फाउन्डेसनले रूस र बेलारूसलाई एक्ल्याउने प्रयासलाई समर्थन गर्नुपर्छ किनभने लाखौं युक्रेनीहरू बिना उक्साहट युद्धबाट पीडित छन् र रूसी शासनलाई उसको अपराधका लागि दण्डित गरिएको छैन।’

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि फाउन्डेसनको निर्णयप्रति आफू असहमत रहेको बताए।

एएफपीसँगको एक लिखित पत्रमा उनले भनेका छन्, ‘यदि मैले पुरस्कार समारोहमा निमन्त्रणा पाएको भए मैले त्यसो गर्ने थिइनँ र मैले बुझेको छु कि यसले स्वीडेन र युक्रेन दुवैका धेरै मानिसहरूलाई दुःखी बनाएको छ।’

भदौ १६, २०८० शनिबार १९:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।