सरकारप्रति ओलीको टिप्पणी- बबुलको रुख रोपेर स्याउ खोजेर पाइन्छ त?

सरकारप्रति ओलीको टिप्पणी- बबुलको रुख रोपेर स्याउ खोजेर पाइन्छ त?

बुटवल : एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम हुन नसकेको बताएका छन्।

पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई बुटवलको रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारबाट जनताको आशा मरिसकेको र सरकार भ्रष्टहरूलाई प्रोत्साहन गर्ने दिशामा अघि बढेको आरोप लगाए।

‘रोप्ने बबुलको रुख, अनि खोज्ने स्याउ? बनाउने यो सरकार अनि खोज्ने विकास। हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन्’, उनले भने।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको बताउँदै अहिले सरकारले चलाएको भ्रष्टचारविरुद्धको अभियान देखावटी मात्र रहेको आरोप लगाए।

‘देशमा भ्रष्टचार मैलाएको छ। क्युन्टल सुन भित्रिँदा समेत अनुसन्धान गर्न सरकारले सक्दैन। अझ माओवादी नेताहरूले भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न भनेर गफ दिएका छन्। त्यो भन्नुभन्दा बरु भ्रष्टचार मेरो अभियान रोकिन्न भने हुन्छ, विरुद्ध हटाए हुन्छ?’, उनले थपे।

साथै उनले देशमा भएका कुनै पनि ठूला भ्रष्टचारमा एमाले पार्टीका संलग्नता नभएको स्पष्ट पार्दै सबै विषयमा छानविन गर्न सरकारलाई समेत आग्रह गरे।

‘वाइडवडी खरिद, ललिता निवास प्रकरण सबैमा हाम्रो केही संलग्नता छैन। यदि जो कोही संलग्नताको पुष्टि हुन्छ त्यो एमालेमा रहन्न। सतही आरोप लगाएर हुँदैन’, उनले भने।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लुम्बिनीको नेतृत्वलाई सर्वसहमत बनाउन निर्देशन समेत दिए। एमाले नेतृत्वमा धेरै नेताहरू यहि प्रदेशबाट रहेको भन्दै सबै नेताहरू बसेर नेतृत्वको टुंगो लगाउन आग्रह गरे।

‘तपाईँहरू बस्नुस्, कुरा टुङ्गयाउनुस्। सबै सहमतिमा बाहिर आउनुपर्छ। यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस्। यो पार्टीको क्लियर कुरा हो। तपाईंहरूले आज बसेर सहमति गर्नुस् भोलि म घोषणा गर्छु। लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्नेछ’, उनले भने।

अध्यक्ष ओलीले प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमालेविरुद्ध अनर्गल बोल्न थालेको आरोप लगाए।

‘प्रचण्डले जनता सरकारमा उतार्ने रे? के का लागि? सरकार सडकमा उत्रने एमालेको विरुद्ध जाने रे? अवस्था यस्तो छ। तर यो हाम्रो लागि अवसर हो। गठबन्धनसँग कुनै काम गर्ने भिजन छैन, कि गर्दैनन’, उनले भने।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरूबाट तत्काल हुन नसक्ने बताए।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले एमालेभित्र पदका लागि प्रतिस्पर्धा नभएको दाबी समेत गरे। उनले राजनीतिक, वैचारिक र सांगठनिकरुपमा स्पष्ट नेता केपी शर्मा ओली नेतृत्वको पार्टीमा एकताबद्ध रहेको स्पष्ट पारे।

उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको बताए।

सचिव गोकर्ण विष्टले  एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको बताए।

भदौ १६, २०८० शनिबार १८:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।