फिल्म समीक्षा : कमजोरी भए पनि ‘पैसा र समयको सत्यानाश’ भन्नु नपर्ने फिल्म ‘ऐंचो पैंचो’
काठमाडौं : ‘यत्तिको फिल्म त मै बनाइहाल्छु नि’ भन्दै फिल्म निर्माणबाट निर्देशनमा आउने कृषा चौलागाईं पहिलो निर्मात्री हैनन्। जो जतिले निर्माणबाट निर्देशनको रहर गरे अधिकांशको नतिजा ‘रहर गरेर मात्र हुन्न रैछ’ भन्ने नै देखियो।
तर यो मामिलामा कृषा फरक देखिएकी छन्। उनले रहरले होइन सोचविचार गरेरै फिल्म ‘ऐंचो पैंचो’ को निर्देशन गरेकी रहिछन्।
यो फिल्मको सबैभन्दा सकारात्मक पक्ष यही रह्यो कि नेपाली फिल्म क्षेत्रमा एक बलियो निर्देशकको प्रवेश भएको छ जसले भोलिका दिनमा मै हुँ भन्ने पुरुष निर्देशकलाई टक्कर दिने संकेत देखाएकी छिन्।
कमेडी, ड्रामा, ट्विस्ट, मनोरञ्जन, पीडा सबैको मिश्रण भएको फिल्म बनेको छ ऐंचो पैंचो।
कलाकारको बलियो पक्षको अध्ययन गरेर उपयोग गर्न कृषा सक्षम छिन् भन्ने वर्षा राउत र सुशील सिटौलाको अभिनयले पुष्टि गर्छ। ब्याकग्राउन्ड म्युजिक अनि दर्शकलाई फिल्ममा तानिराख्न निर्देशक सफल भएकी छन्।
फिल्मको विषय वस्तु राजनीति भए पनि यसमा माया प्रेमलाई पनि चट्ट मिसाइएको छ।
राजनीतिमा लागेका सुशील सिटौला, कोसिस क्षेत्री अनि मुकुन भुसाल र दिदी बहिनीको भूमिकामा रहेका स्वस्तिमा र वर्षाको भेट, सम्बन्ध, टकरावको वरिपरि नै फिल्म घुमेको छ।
राजनीतिक परिवर्तनको पक्षमा रहेका युवा पुस्ताको प्रतिनिधित्व र संघर्षलाई फिल्ममा प्रयोग गरिएको छ।
दिलेन्द्र शर्मा बनेका मुकुन भुसाललाई पढे लेखेको र डिग्री पास गरेको युवा देखाइएको छ। उनको साथी सीताराम (सुशील सिटौला)लाई कम पढेको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरूको दैनिकी भट्टी पसल,राजनीति र चुनावी माहौलमा बित्छ।
बाबुआमा बितेपछि भिनाजुको घरमा बस्दै आएका पुष्पा (वर्षा) र रुपा (स्वस्तिमा)को भुमिका पढाइ र टिकटकरका रुपमा चित्रण गरिएको छ।
मोरङको मधुमल्ला आसपासमा खिचिएको फिल्ममा गाउँका सुन्दर अर्थात् कोसिस क्षेत्री भिलेन हुन्छन्। पैसाका लागि जंगल मास्ने र नेता मन्त्रीको अगाडि राम्रो बन्ने अनि पार्टीलाई दुईचार पैसा सहयोग गर्ने चरित्र छ उनको।
फिल्ममा स्वस्तिमाको अभिनय निकै कमजोर देखियो। मुकुनको अभिनय पनि दर्शकले सम्झिन लायक छैन।
भिलेन बनेका कोसिसले अभिनयमा सक्दो कोसिस गरेका छन्। वर्षा र स्वस्तिमाको भिनाजु बनेका राजाराम पौडेल सदाबहार क्यारेक्टरमा छन्।
स्वस्तिमाको दिदी बनेकी वर्षा अभिनयमा पनि दिदीकै हैसियतमा देखिएकी छन्। चटपटे, ग्ल्यामर चरित्रमा देखिँदै आएकी उनको गम्भीर चरित्रमा पनि अब्बल अभिनय निकाल्न सफल भएकी छन् निर्देशक।
आफ्नो प्रेमीका आफ्नै साथीसँग विवाह गर्न राजी भएपछिको पीडा र गाउँ छाडेर पैसा कमाउन विदेश जाँदाको क्षणमा सुशीलको अभिनय दमदार देखिएको छ। फिल्मबाट अब्बल कलाकारको यात्रामा सुशील एक कदम अगाडि बढेका छन्। हँसाउन अनि रुवाउन दुवैमा फिट देखिन्छन् उनी।
मध्यान्तरमा फिल्म कहाँ निर टुंग्याउने भन्नेमा निर्देशकले चलाखी गरेकी छन्।
फिल्मको प्रारम्भ अनि अन्त्य राम्रो छ। दर्शकले मजा लिन्छन्। संगीतमा ‘काले केटाले’ गीतको संगीतदेखि कोरियोग्राफ राम्रो छ। फिल्ममा यसले चटनीको काम गरेको छ। तर गीतको आवश्यकता कथामा जोड्न चुकेकी छन् निर्देशक।
फिल्ममा अन्य कमजोरी पनि छन्। ‘नेता धूर्त हुन्छन् अनि मतदाता भेडा’ भन्ने राजनीतिक विषयमा बन्ने फिल्मको पुरानै सोचबाट कृषा पनि ग्रसित देखिइन्।
मतदाता बदलिइसकेका छन् भन्ने २०७९ मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवार र नयाँ दलको उदयले देखाइसकेको छ। यसमा अलि आउटडेटेड थिम लाग्छ।
उता विदेशबाट मृत्यु भएर स्वदेश ल्याएको शवले आँखा चलाएको प्रष्टै देखिन्छ।
बुद्धि तामाङको रोल छोटो छ। उनी चुनावको समयमा ‘हैट’ भन्न बाहेक अरू बेला आउँदैनन्। उनलाई यति भूमिकाको लागि यो फिल्ममा राखे पनि नराखे पनि कथामा कुनै फरक पर्दैन। बुद्धिको खर्च चलाउन निर्देशकले माया मात्र गरेर फिल्म खेलाएको झैं देखिन्छ।
कृषाले पहिलो फिल्मबाटै सिक्वेलको लोभ गरेकी छिन्। यसबाट जोगिएर नयाँ विषयमा आफ्नो क्षमता परीक्षण गर्ने प्रयास गरे राम्रो हो।
समग्रमा राजनीतिक विषयमै बनेका ‘नाङ्गो गाउँ’ अनि ‘दिमाग खराब’को निर्माण टिमलाई ऐंचो पैंचोले पक्कै दिमाग खराब बनाउन सक्छ।
परिवारसहित हलमा गएर फिल्म हेर्दा ‘ह्या’ पैसा र समयको सत्यानाश भन्नु पर्दैन। सबै उमेर समूहका लागि फिल्म फिट छ।
निर्देशक कृषालाई भने सुझाव, पहिलो सफलतामै नमात्तिनु। यात्रा अझै लामो छ। मात्तिए चिप्लिने जोखिम हुन्छ है!
भदौ १६, २०८० शनिबार १४:०१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।