युद्धभन्दा कम नहुने भारत र पाकिस्तानको क्रिकेट म्याच आज, कसले जित्ला?

युद्धभन्दा कम नहुने भारत र पाकिस्तानको क्रिकेट म्याच आज, कसले जित्ला?

काठमाडौं : एसिया कपमा आज विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ। 

नेपाली समय अनुसार ३:१५ बजे श्रीलंकाको पालिकेलमा हुने यो खेल यी दुई देशमा लागि मात्र होइन विश्वभरका क्रिकेट प्रेमीका लागि प्रतीक्षाको विषय हो।

यी दुईबीच चार वर्षपछि एकदिवसीय खेलमा भेट हुन लागेको हो। सन् २०१९ को विश्वकपमा भारतले पाकिस्तानलाई ८९ रनले हराएपछि यी दुईबीच ५० ‌ओभरको खेलमा भिडन्त भएको छैन।

आजको खेलमा वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान पनि छ।

क्रिकेटमा भारत र पाकिस्तानको भिडन्तलाई ‘एल क्लासिको’ म्याचको रूपमा लिइँदै आइएको छ।

२०१९ को एकदिवसीय विश्वकप दौरान भारतका स्टार क्रिकेटर वीरेन्द्र सहेवागले भारत र पाकिस्तानबीचको खेल कुनै युद्धभन्दा कम नभएको बताएका थिए।

हुन पनि जब भारत र पाकिस्तानको कुरा आउँछ यी दुईका लागि क्रिकेट, एक खेलको रुपमा मात्र सीमित हुन्न। खेलमार्फत नै यी दुई नयाँ र पुरानो दुश्मनीको बदला लिने दाउमा हुन्छन्।

विशेषगरी यी दुई देशले आफू बीचको क्रिकेट खेलमा पनि लामो समय देखि चल्दै आएको अन्तर्देशीय द्वन्द्वकै मनोभावना र आवेगलाई मिसाउने गर्छन्। दुई देशको झगडा र कलहकै प्रतिनिधित्व खेलले गर्छन्।

त्यसैले यी दुई देशबीचको खेललाई युद्धकै रुपमा लिइन्छ। जसमा खेलाडी र त्योभन्दा बढी दुई देशका समर्थकहरूले युद्धकै रुपमा स्थापित गर्छन्।

विशेषगरी दुई देशका जनता र समर्थकहरूले क्रिकेट खेलमा आवश्यकताभन्दा बढी राष्ट्रियता लादेका कारण पनि खेललाई युद्ध सरह बनाएका हुन। जसलाई खेलाडीले पनि उतिकै साथ दिएका छन्।

भदौ १६, २०८० शनिबार १३:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।