पुराना गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौं, सुध्रिन चाहन्छौं : प्रचण्ड

पुराना गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौं, सुध्रिन चाहन्छौं : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताएका छन्।

पार्टी मुख्यालय पेरिस डाँडाबाट शनिबार तीन महिने रुपान्तरण विशेष अभियानको सुरुवात गर्दै उनले कतिपय गल्ती, कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताए।

‘सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ, हामी वाचा गर्छौं, हाम्रा कदम अग्रगमनबाट विचलित हुने छैनन्, जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ,’ उनले भने।

अभियानका क्रममा सबै जनताका घरमा पुग्ने योजना निर्माण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका कुरा सुन्ने तथा सुझाव र आलोचना ग्रहण गरिने बताए।

‘हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौं, हामी सुध्रिन चाहन्छौं, त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौं,’ उनले भने।

अध्यक्ष दाहालले अभियानका क्रममा नेता कार्यकर्ताको सक्रियता र जनतामाझ पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने बताए।

भदौ १६, २०८० शनिबार १२:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।