चमेलीको पौरख र भट्टी पसल
चमेली, घरकी कान्छी छोरी। सात जना दिदीबहिनी र एउटा भाइ मध्येकी एक। गाउँबाट भर्खर सहर झरेको यो परिवारलाई खान लाउन नै धौ-धौ थियो। बाबुआमाको पेसा ज्यामी काम अनि आम्दानी न्यून। यतिका छोरा छोरीलाई धेरै पढाउनु परको कुरा थियो।
अरू दिदीबहिनी भन्दा विद्यालयको झोला बोक्न अलि बढी पाएकी थिइन् चमेलीले, कान्छी छोरी भएर होला। पढाइ पनि मध्यम नै थियो। घरबेटी बाको भनसुनमा सामुदायिक विद्यालयबाट १० कक्षासम्म अध्ययन गरेपछि पढाइलाई यति मै थाती राखिन् उनले। कक्षा १० सकेपछि केही वर्ष यत्तिकै बिते।
एउटै टोलको दाइको म्यानपावर थियो। ‘राम्रो जागिर आको छ, मासिक ५०/६० हजार बच्छ, जान्छौ?’ प्रस्ताव आयो। चमेलीले घरको खर्चलाई मध्यनजर गर्दै प्रस्ताव स्वीकार गरिन्।
नागरिकता छँदै थियो। भोलिपल्टै बाको साथमा सदरमुकाम गएर पासपोर्ट बनाउने तरखरमा लागिन् उनी।
पासपोर्ट त बन्यो तर भिसा आएन। सायद भाग्यले नै नेपालमै केही गर्नु भन्यो। केही दिन उदासीमै बिते। समयले सबै कुरा बिर्सायो।
पढेका, देखेका र भोगेका कुरालाई मस्तिष्कले बचत गर्ने काम गर्छ। छिमेकमा होटल धेरै थियो। त्यसमा मनग्गे आम्दानी भएको आकलन गरिन्। अन्त्यमा चमेली सानो लगानीमा होटल खोल्ने निर्णयमा पुगिन्। सानो होटल अर्थात् भट्टी।
परिवारले उनको प्रस्ताव सजिलै स्वीकार गरेन। बा-आमाले एक्ली केटी, पसल चलाउन गाह्रो हुन्छ। सक्दिनस् भन्थे। तर जोस जाँगर भएकी चमेलीले कसैको सुनिनन्।
चेमलीले होटल चलाउन थालिन्। अप्ठ्यारा नआएका होइनन्। तर गर्छु भनेपछि गर्नैपर्ने स्वभाव भएकी उनले सुरु गरेको व्यवसायलाई निरन्तरता नदिने कुरोलाई स्वीकार गरिनन्।
बिहान उज्यालो नहुँदै उनको दिन सुरु हुन्थ्यो। बिहानीपख क्याम्पस जाने केटाहरू चुरोट खोज्न आउँछन् भनेर साढे पाँच तिरै दोकान खोल्छिन्।
चाउमिनवाला र दूधवालाले टिङ टिङ घन्टी हान्दै भन्छन्, ‘चमेली दूध आइसक्यो’, ‘चाउमिन यतै राख्दिएको छु।उनलाई हस-हस भन्ने फुर्सद पनि हुँदैन।
रंग कडा अनि ट्याक्क मिलेको चिनीको चियाको स्वाद लिन झुम्मिएका ती हुल? आलु, अण्डा, चना पकाउनु त छँदैछ। काम पौरखी गर्छिन्, आम्दानी राम्रै छ चमेलीको। जे होस् गुजारा चलेकै छ।
बिहानका एक हुललाई चिया, चुरोट र नास्ता, दिउँसोकालाई खाजा। यत्ति बिधाई गरेपछि सन्ध्याकालीन भट्टीको लागि चाहिने सामानको तयारीमा लाग्छिन्। कामले भ्याइ नभइ। यताउता गर्दागर्दै थकाइले चूर। आखिर बजारमा प्रतिस्पर्धा पनि त छ। मिहिनेत त गर्नै पर्यो।
उनको जस्तै धेरैको दोकान त्यही नजिकै छ। पुर्ख्यौली बोलि र व्यवहारले अलि धेरै ग्राहक उनैकोमा रतिन्छन्।
उमेरकी युवती त्यो पनि कलकलाउँदी। उसको रूपले सबैलाई मोहित गरेको थियो। मुस्कानले नै लट्याउँथिन चमेलीले आउने ग्राहकलाई। चुरोटका धुवा बुङ्ग बुङ्ग उडाउने ग्राहकसँग नजर पर्दा पनि मुसुक्क मस्किन्थिन्।
के गर्नु व्यवहार टार्नु नै छ। महिनाभरिको होटल खर्च, खानपिनको खर्च, अनि घरबेटीले महिना मर्ने दिनको औंला भाँच्दै गनेको भाडा तिर्नु छ।
व्यापारिक मन्दी चल्दै गर्दा लोकल रक्सि पनि नराखी सुखै भएन। अलि गन्ध धेरै आउने भए पनि लुकाएर बेच्छिन्।
ट्वाकेहरूका साहित्यिक र राजनीतिक गफमा मस्किंदै गर्दा झमक्क साँझ परेको पनि पत्तो हुँदैन चमेलीलाई। अलि पैसा भएका आए भुटन, सेकुवा मगाउँछन्। अलि निम्छरा आए कुखुराको खुट्टा-टाउकोसँगै लोकल रक्सीको साथमा गफिन्छन् उनका ग्राहकहरू।
दिनहुँ ग्राहकका रुपमा उनको दोकानमा आउँथ्यो राकेश। गफै गफमा लाग्दा लाग्दै प्रेम बढेछ। राकेशको जेठी श्रीमती गाउँमा नै भएकोले उसले चमेलीलाई कान्छी बनाउने निर्णय गरेको थियो।
राकेशले उसलाई जालमा फसाएको थियो तर सोझी चमेलीलाई खासै थाहा थिएन। प्रेमले छोपेपछि दिमागले काम गर्न छोड्यो।
आफ्नो व्यापारमा भन्दा राकेशसँग समय व्यतीत गर्न थालिन् चमेली। यसपछि पसल खस्कँदै गयो। चमेली दोकान नै बन्द गरेर हिंड्न थालिन्, ग्राहक पनि भड्किन थालिसकेका थिए।
अब उनीसँग न होटलको मनग्गे आम्दानी नै छ, न कुनै जागिर नै। राकेशको बारेमा थाहा पाउनु अघि नै उनको सबै सकिसकेको थियो।
तर केही गर्छु भन्ने साहस भने थियो। उनी फेरि पासपोर्टमा भिसा हान्ने तरखरमा लागिन्। अन्ततः दुबईमा बालबच्चा पोषण कार्यालयमा भिसा आयो। एक महिनामै उनी विदेश उडिन्।
जे भए पनि मिहिनेत गर्ने बानी। विगतका दिन बिर्सेर आफ्नो काममा लागिन्। आम्दानी राम्रो भयो। केही वर्षको कमाइले देशमा एउटा बासको जोहो गर्न सफल भइन् र यतै फर्किएर बाआमासँगै बस्न थालिन्।
देश त फर्किइन्। तर अब गर्ने के। विगतका दिनलाई परिकल्पना गर्दै पुन? राम्रै होटल खोल्ने निर्णय गरिन्।
अहिले चमेलीसँग मनग्गे पैसा छ। ठुलै होटल खेल्ने तरखरमा पनि छिन् उनी। २/४ जनालाई रोजगारी दिने भएकी छन् चमेली।
भदौ १६, २०८० शनिबार १२:०९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।