बुटवलमा आजदेखि एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन

बुटवलमा आजदेखि एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन

बुटवल : एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आज (शनिबार) देखि बुटवलमा सुरु हुँदैछ। बुटवल रामनगर स्थित अन्तर्राष्ट्रिय सभा हलमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

सभाहलको मुख्य हल ११ सय क्षमता भएकोले अधिवेशनको खुला सत्रको लागि सभा हल स्थल बाहिर मञ्च बनाइएको छ।

शुक्रबार साँझदेखि निरन्तर पानी परिरहेकाले आज पनि वर्षा निरन्तर भएमा बाहिर डिस्प्ले लगाएर एमालेले सभा हल भित्र कार्यक्रम गर्ने तयारी गरेको छ।

पहिलो दिन उद्घाटन सत्र गरी आइतबारदेखि बन्द सत्र सुरु हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। त्यसैले आफू अनुकूल नेतृत्व छनोटमा शीर्ष नेताहरूले केही दिन अघिदेखि नै आन्तरिक छलफल तथा तयारी गरेका छन्। 

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरूमा पनि अधिवेशनको तयारी अघि बढाएको छ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरूबाट छानिएका गरी १००४ प्रतिनिधिहरू सहभागी हुने छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउने एमाले प्रचार प्रसार विभाग प्रमुख डीआर घिमिरेले बताए।

भदौ १६, २०८० शनिबार १०:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।