चीनको नक्सापछि सरकारको विज्ञप्ति : नेपालको नक्सालाई छिमेकी मुलुकले सम्मान गर्नुपर्छ

चीनको नक्सापछि सरकारको विज्ञप्ति : नेपालको नक्सालाई छिमेकी मुलुकले सम्मान गर्नुपर्छ

काठमाडौं : सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरूले सम्मान गर्नुपर्ने बताएको छ।

परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको हो।

शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले पास गरेको नक्सामा नेपाल स्पष्ट रहेको बताएको हो।

‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ।’

चीनले २८ अगस्ट २०२३ मा जारी गरेको ‘स्ट्यान्डर्ड म्याप’मा नेपालको चुच्चे पुरानै नक्सा देखिएपछि मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो।

यसअघि चीन भ्रमणमा जाने भनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीनले जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको भन्दै आफ्नो भ्रमण स्थगित गरेका थिए।

भदौ १५, २०८० शुक्रबार २२:१०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।