सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

काठमाडौं : सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ।

शुक्रबार एकीकृत समाजवादीनिकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।

अनेरास्ववियुले समाजशास्त्रको छैटौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

महिना दिनसम्म परीक्षा नियन्त्रक कार्यालयमा तालाबन्दी हुँदा नतिजा प्रकाशन र परीक्षासम्बन्धी सबै काम ठप्प भएपछि स्वतन्त्र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीले आफूहरूको भविष्यमाथि नै खेलबाड गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यालयमा ताला तोडेका थिए।

आफ्नो सहमतिविनै ताला तोडेको भन्दै समाजवादी निकट विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड गरेको हो। ताेडफोडबाट परीक्षा नियन्त्रक देवसिंह नाथ र सहपरीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ।

१२/१५ जनाको समूहले एक्कासी कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेको परीक्षा नियन्त्रक नाथले जानकारी दिए। विद्यार्थी सङ्गठनले फोनमा भौतिक रूपमा कारबाही गर्ने धम्कीसमेत दिएको उनले बताए।

परीक्षा नियन्त्रक कार्यालयमै तोडफोड भएपछि विश्वविद्यालयका परीक्षा र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य प्रभावित भएको उनको भनाइ छ। अनेरास्ववियु कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयं परीक्षा नियन्त्रक देवसिंह नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ।

भदौ १५, २०८० शुक्रबार २०:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।