नारायण रायमाझी एकल साँझ : एक तीर, दुई निशाना

नारायण रायमाझी एकल साँझ : एक तीर, दुई निशाना

काठमाडौं : शुक्रबार दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीको एकल साँझ सुरू भयो।

हलमा ठूलो संख्यामा गायक-गायिका, कलाकार, चलचित्रकर्मी, शुभचिन्तक र दर्शकस्रोता जम्मा भए। हलमा मात्र नअटेर प्रज्ञा प्रतिष्ठान परिसरको डबलीमा दर्शकस्रोता उनको गीत सुन्न लालायित थिए।

तर, त्यहाँ पुगेका दर्शकस्रोता नै केहीबेर अल्मलिने अवस्था आयो। कारण थियो त्यहाँ राखिएका पोस्टर। त्यहाँ एकल साँझका पोस्टर भन्दा बढी फिल्मका पोस्टर थिए। त्यो पनि उनै एकल साँझका गायक रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को।

प्रज्ञाको गेटबाट छिर्नेबित्तिकै सुरू हुने फिल्मका पोस्टर रायमाझीले गीत गाउने स्टेजसम्मै थियो। कहिँ कतै छुटेका थिएनन्। एकल साँझको पोस्टर भने मुस्किलले तीनवटा मात्रै देखिन्थे। जसमा देखिएको थियो, ‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ’।

रायमाझीले एकल साँझमा आगामी दशैंमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को प्रचार मज्जैले गरे। एकल साँझमा जसरी फिल्मको प्रचार गरिएको थियो, यसले के शंका जन्मायो भने कतै फिल्मको प्रचारको लागि एकल साँझ गरिएको थिएन?

जे होस्, रायमाझीले एक तीरले दुई निशाना लगाएरै छाडे।

भदौ १५, २०८० शुक्रबार १९:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।