बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।

शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।

काठमाडौं जिल्ला सदस्यमा निर्वाचित भएसँगै उनका लागि बागमती प्रदेशको पदाधिकारी चुनिने बाटो खुलेको थियो।

त्यसलगत्तै उनले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए। सोही प्यानलको मतमा खड्का शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भए। 

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिए।

उनले आफूले तत्कालका लागि केन्द्रीय अध्यक्षको बारेमा नसोचको भन्दै ६ वटै प्रदेशका पदाधिकारीहरूसँग बसेर छलफलपछि केन्द्रीय परिवेशबारे निर्णय लिने बताए।

प्रदेश अध्यक्ष भएसँगै उनले प्रदेशका ६ वटै जिल्लाको क्रिकेटको विकासमा समान रूपले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रादेशिक क्रिकेट संघ आत्मनिर्भर बनाउनुपर्ने भन्दै उनले जिल्ला र प्रदेशको संचरनालाई बलियो बनाएपछि मात्रै राष्ट्रिय क्रिकेटमा सुधार हुने धारणा राखे।

भदौ १५, २०८० शुक्रबार १८:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।