एमालेको लुम्बिनी अधिवेशनको तयारी पूरा, शनिबार ओ‌लीले उद्घाटन गर्ने

एमालेको लुम्बिनी अधिवेशनको तयारी पूरा, शनिबार ओ‌लीले उद्घाटन गर्ने

बुटवल : एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा भएको छ।

आयोजक एमाले लुम्बिनी प्रदेशले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको र लुम्बिनीको अधिवेशनले देशलाई नै नयाँ सन्देश दिने जानकारी दियो।

भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले एमालेको राजनीतिक जीवनमा रक्तसञ्चार प्रदान गर्ने र देशलाई नै नयाँ सन्देश दिने एमाले प्रदेश अध्यक्ष राधाकृष्ण अर्यालको दाबी छ।

संघीय ढाँचामा पहिलो अधिवेशन हुन लागेकाले अधिवेशन आफैँमा ऐतिहासिक भएको उनकाे भनाइ छ। एमालेले सात प्रदेशमध्ये पहिलो अधिवेशन यहाँ गर्न लागेको हो।

सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने अध्यक्ष कँडेलको भनाइ छ।

सम्मेलनअघि बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन्।

सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरूबाट छानिएका १ हजार ४ प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन्।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखांचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्।

त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका  एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए।

भदौ १५, २०८० शुक्रबार १८:२०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।