मध्यमधार : ...त्यसपछि टीकारामले स्वीकारे ‘म गे हुँ’
यो त कस्तो ‘छक्का’ जस्तो! कसरी बोल्या, कसरी हिड्या होला केटा मान्छे भएर नि!
सबै साथीहरूमाझ शिक्षकले यस्तो भन्दा टीकाराम भुसाल छाँगाबाट खसेजस्तै भए। गाउँमा छँदा कसैले पनि उनको हिँडाइ र बोलाइबारे टिप्पणी गरेका थिएनन्।
टीकारामलाई आफ्नो हिँडाइ र बोलाइ अरू केटाजस्तो छैन भन्ने त थाहा थियो। तर, त्यसअघि कसैले पनि मुखै फोरेर भनेका थिएनन्। साथीहरूले ‘कस्तो केटी जस्तो’ भन्दा त सहेकै थिए, जब शिक्षकबाटै त्यस्तो वचन सुने, त्यसपछि भने सारा संसारै अँध्यारो देखे उनले।
कक्षा ९ मा अध्ययन गर्दै थिए टीकराम। पढाइमा पनि अब्बल नै थिए। पढाइलाई लिएर त उनलाई कसैले केही भन्दैनथे। तर त्यसदिन शिक्षकको त्यस्तो भनाइले उनलाई असाध्यै घोच्यो। काठमाडौं शहरमा उनलाई एक्लो भएझैँ लाग्यो।
बुवाआमा गाउँमा। दाजुभाइ सबै व्यस्त। शहरको रहनसहन सिक्न खोज्दै थिए उनी। तर, पहिलो गाँसमै ढुङ्गा परेजस्तो भयो।
‘सरले छक्का भन्नुहुन्छ भन्ने त सोचेकै थिइनँ,’ भुसाल भन्छन्, ‘जब सरले त्यसो भने, मलाई बाच्नुको के अर्थ भन्ने लाग्यो।’
टीकाराम घर फर्किए। साँझको काम सकेपछि छतमा गए। शिक्षकले भनेको सम्झिरहे। मन दुखेको दुख्यै गर्याे। धेरै बेर रोए। नराम्रो निर्णय त लिएनन् तर त्यसपछिका झण्डै एक महिना भने उनी विद्यालय नै गएनन्।
उनले घर बसिरहँदा सोचे, ‘म आखिर के हो? मलाई किन अरु केटाको जस्तो महसुस हुँदैन?’
मनमा यस्तो कुरा खेले पनि उत्तर पाउन सकेनन्। २० दिन घर बसेपछि भने उनलाई ‘पढ्नु त पर्छ’ भन्ने लाग्यो। अनि फेरि विद्यालय जान थाले। साथीहरूको ‘बुलिङ’ र शिक्षकको दुव्र्यवहार उस्तै। तर, पनि उनले पढाइ छाडेनन्।
घरको आर्थिक अवस्था नाजुक भएकाले सात कक्षा पास गरेपछि उनी काठमाडौं हानिएका थिए। बिहान-बेलुका काम गरेर दिउँसो लैनचौरको एक सामुदायिक विद्यालयमा पढ्थे उनी।
कक्षा १० पढ्दा रेडियो निकै सुन्थे टीकाराम। रेडियोमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा तयार पारिएको कार्यक्रम ‘पहिचान’ आउँथ्यो।
कार्यक्रम सुन्न थालेपछि टीकारामलाई आफू कार्यक्रममा भनिएको जस्तै लैंगिकता भएको व्यक्ति हुँ कि जस्तो लाग्न थाल्यो। नीलहिरा समाजको कार्यालयको फोन नम्बर पनि दिएको हुन्थ्यो कार्यक्रमको अन्त्यमा। उनले एक दिन फोन गरे। उनलाई त्यहाँ आउन भनियो। उनी गए।
१० कक्षादेखि कार्यक्रम सुन्ने गरेको भए पनि कक्षा १२ को पढाइ सकिएपछि मात्र उनलाई नीलहिरा समाज जान आँट आयो। त्यहाँ दुई जनाले उनलाई लैंगिकताबारे जानकारी दिए। आफू के रहेछु भन्ने पनि त्यहिँ थाहा पाए।
टीकारामले थाहा पाए आफूलाई केटा नै मन पर्नुको कारण, अनि थाहा पाए यो नराम्रो हैन रहेछ भन्ने पनि। त्यसपछि उनले आफूलाई स्वीकारे ‘म गे हुँ’। आफूले स्वीकार गरे पनि घरमा कसरी भन्नु भन्ने कुराले सतायो उनलाई?
घरमा सबैले स्वीकारेपछि...
घरमा भन्नुपर्ने त छँदै थियो। गाउँ गएको बेला ठूलो साहस जुटाए। घरमा सबै भएको बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पर्ने समलिंगी, ट्रान्सम्यान, ट्रान्सवुमन, अन्र्तलिंगी, क्वेर समुदायबारे बताएपछि भने, ‘म पनि यहि समुदाय भित्र पर्छु।’
ठूलो साहस जुटाएर भनेका टीकारामलाई घरमा केही भन्लान् की भन्ने थियो। कसैले केही भनेनन्। त्यो दिनदेखि उनको घरमा लैंगिकताको कुरा भएको पनि छैन। वर्षको दुई–तीनपटक घर जाने उनलाई विवाहको दबाव पनि आएको छैन।
‘धेरै साथीहरूको परिवारले नस्वीकारेर परिवारविहीन हुनुपरेको थियो। तर मेरो परिवारले त सहजै स्वीकार्यो,’ खुसी हुँदै टीकारामले भने, ‘यो मामिलामा म भाग्यमानी रैछु।’
भुसाल आफूलाई ‘ननबाइनरी’ भनेर चिनाउन चाहन्छन्। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भएको विभेदलाई चिर्नुपर्छ भन्ने अभियानमा कटिबद्ध छन्। नीलहिरा समाजकै एक विभागमा कार्यरत उनी आर्थिक रूपमा पनि आफ्नो खुट्टामा उभिनसक्ने छन्।
समुदाय स्तरमा धेरैले स्वीकारे पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय उठान मूलधारको मिडियाले नगरेकोमा उनको चित्त दुखाइ रहेछ।
उनले भने, ‘कलाकारका कपडाको हेडलाइन बनाउने अधिकांश मिडियाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू बलात्कारमा पर्दा समाचार बनाउँदैनन्, यो विभेद होइन र?’
सामाजिक सञ्जालले सामाजिक स्वीकार्यता बढाए पनि आधारभूत अधिकारहरू पाउन गर्नुपर्ने संघर्षका कथा मिडियामा नआएको उनले बताए।
उनले प्रश्न गरे, ‘दुई व्यक्तिबीच विवाह गर्न पाउनुपर्ने, धर्म सन्तान राख्न पाउने, लोकसेवामा फारम भर्दा पहिचानका आधारमा भर्न पाउनुपर्ने, कोटा प्रणाली लागू हुनुपर्ने, परिवार र समुदायबाट अपहेलित भएपछिका संघर्षका कथाहरू खै मिडियामा आएको?’
यौन व्यवसायमा ‘ट्रान्सवुमन’हरू मात्रै भएको अन्य महिला तथा पुरुष हुँदै नभएजसरी मिडियाले प्रस्तुत गरिरहेकोप्रति पनि उनको गुनासो छ।
‘यौन व्यवसाय गर्न किन बाध्य भए, घरमा उनीहरू किन अटेनन्? सम्पत्तिबाट बेदखल कति भए? यस्तो खोज्नुपर्ने होइन मिडियाले?,’ उनले अगाडि भने, ‘सबै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू यौन व्यवसायमा लाग्छन् भन्ने भ्रम समाजमा परेको छ। यसलाई मिडियाले गलत सावित गर्न सहयोग गर्नुपर्छ। सबै समुदायका मानिस छन् यसमा।’
समाजले स्वीकार्दै छ, राज्यले स्वीकारोस्
टीकाराम पहिलेभन्दा अहिलेका धेरै विद्यार्थीहरू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बुझ्ने ठान्छन्। विद्यालयदेखि क्याम्पस तहसम्म ‘प्राइड मन्थ’ मनाइनु, सामाजिक सञ्जालमा तस्बिर राख्दा धेरैजसो प्रतिक्रियामा स्वीकारोक्ति आउनुले समाजले बुझ्दै गएको देखिएको उनको बुझाइ छ।
यद्यपि समाजको एक तप्काले भने बुझे पनि बुझ्दै नबुझेको जस्तो गरेको उनको भनाइ छ।
‘सर्वाेच्चले अस्थायी अभिलेख राख्ने गरी विवाह दर्ता गर्न भनिसक्यो। केही कमल थापाजस्ता व्यक्तिले विरोध पनि गरे। आदेशको धेरैले समर्थन गरे,’ भुसालले भने, ‘हाम्रो समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण बदल्दैछ, तर राज्यले भने वास्तै गरेको छैन।’
संविधानमा सबै नागरिकलाई समान हक र पहिचानको अधिकार भने पनि कानून बनाउन सरकारले ढिलासुस्ती गरेर यो समुदायमाथि मानवअधिकार उल्लंघन गरेको उनको बुझाइ छ।
नेपालमै बसेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सामाजिक न्यायमा काम गर्ने योजना बनाएका टीकाराम समान अधिकार प्राप्त नभएसम्म लडिरहने बताउँछन्।
‘मूख्य कुरा आधारभूत अधिकारको लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि कानून बनेको छैन, पहिचानका आधारमा सरकारी र निजी कार्यालयमा काम गर्ने ढोका बन्द छन्,’ उनले अगाडि थपे, ‘समाजले स्वीकार्दै गए पनि केही रुढीग्रस्त परिवारले घर निकाला नै गरेको छ। समस्याको जरासम्मै गएर काम हुन बाँकी नै छ। जबसम्म सबैलाई समान अधिकार प्राप्त हुँदैन, तबसम्म म लडिरहन्छु यहिँ बसेर।’
मध्यमधारका अन्य सामग्री
भदौ १५, २०८० शुक्रबार १७:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।