‘एक भगवत् गीता’को ट्रेलर हेरेर आफैँ रोए विपिन
काठमाडौं : शुक्रबार काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरको हलमा फिल्म ‘एक भगवत् गीता’को ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो।
कार्यक्रममा फिल्मका मुख्य कलाकार धिरज मगरबाहेक अधिकांश उपस्थिति थिए। ट्रेलर देखाइयो। त्यसपछि कलाकारहरूले बोल्ने क्रम सुरू भयो।
सरूमै बोले फिल्मका मुख्य कलाकार विपिन कार्की। फिल्मबारे बाेल्दै गर्दा उनी भक्कानिए। आफ्नो क्यारेक्टर र कमलामाईको अवतारमा देखिँदाको अनुभव सुनाउँदै गर्दा उनले आँशु थाम्न सकेनन्।
फिल्ममा उनले अहिलेसम्मकै फरक र चुनौतीपूर्ण क्यारेक्टरमा अभिनय गर्दाको क्षण सम्झँदै भने, ‘ट्रेलर हेर्दा म आफैँ भावुक बनेँ किनकी यो चरित्र साँच्चै नै कठिन रहेछ।’
अन्य सार्वजनिक कार्यक्रममा खुलेर बाेल्ने अनि उपस्थित दर्शकलाई मज्जाले हसाउने विपिन शुक्रबारको ट्रेलर रिलिज कार्यक्रममा एकाएक भावुक हुँदै बाेलेपछि त्यहाँ एकछिन सन्नाटा छायो।
पारालैंगिक चरित्र निभाएका विपिनलाई पत्रकारले यो ट्रेलर तथा पोस्टर रिलिज भएपछि कस्तो प्रतिक्रिया आयो भन्ने प्रश्नमा उनले मैले जे गरे पनि घरकाले कलाकारका रूपमा लिइसके भन्ने जवाफ फर्काए।
उनी भन्छन्,‘यो फिल्ममा मैले फरक काम गर्ने मौका पाएँ। यो जीवनमा प्रवेश गर्नु आफैँमा चुनौतीपूर्ण थियो।’
आफूलाई भर्सटायल अभिनेताका रूपमा उभ्याएका कार्कीले फिल्म ‘लुट’बाट अभिनेताका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। अभिनय गरेकामध्ये फिल्म ‘पशुपति प्रसाद’को ‘भष्मे डन’ क्यारेक्टरमार्फत नै दर्शकमाझ उनी अझै परिचित छन्।
विपिनलाई दर्शकले चिन्दा ‘भष्मे डन’ नै उपनामले चिन्ने गरेका छन्। उनले फिल्म ‘छड्के’, ‘विन्दु’, ‘गोपी’ लगायत जति फिल्ममा काम गरेका छन्, ती सबैमा उनी फरक भूमिकामा देखिएका छन्।
भदौ १५, २०८० शुक्रबार १७:२४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।