सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय तोडफोड

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको हो। 

शुक्रबार दिउँसो समाजवादीनिकट अनेरास्ववियूका नेताहरूले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन्। 

समाजवादीका नेता कार्यकर्ता एक्कासि कार्यालयमा घुसेर हामिले लगाएको ताला किन तोडेको भन्दै छापामार शैलीमा तोडफोड गरेको परीक्षा नियन्त्रक नाथले बताए।

‘हामी दुवैजना कार्यकक्षमा नियमित कामकाज गरिरहेका थियौँ। एक्कासि १२/१५ जनाको समुह आएर अराजक शैलीमा तोडफोड गरेर गए,’उनले भने । 

सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराजसहित तोडफोड गरेको उनले बताए। 

समाजवादीनिकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए। 

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको दाबी गरेको छ। 

अनेरास्ववियू कञ्चनपुरका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको र आफूहरूसँग सल्लाह नै नगरी ताला तोडेपछि यो परिस्थिति सिर्जना भएको बताए। 

भदौ १५, २०८० शुक्रबार १५:२३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।