स्वस्तिमा र मुकुनलाई छायामा पारे वर्षा र सुशीलले
काठमाडौँ : मिडिया अटेन्सन अनि फ्यान फलोइङमा स्वस्तिमा खड्का अनि मुकुन भुसाल निकै अगाडि छन् वर्षा राउत र सुशील सिटौलाको तुलनामा। वर्षा चर्चामा आइरहे पनि उनले अभिनयको कमै प्रशंसा सुन्न पाएकी अभिनेत्री हुन्। उता स्वस्तिमाले बुलबुलबाट सबैको वाहवाही नै पाएकी थिइन्।
मुकुनले त बुलबुलमा गरेको अभिनयबाट परिचय नै बदलियो चोपेन्द्रको रूपमा। अभिनयका अब्बल कलाकारको छवि बनेसँगै प्रशंसक बढ्ने नै भयो। सुशील बल्ल बल्ल दर्शकमाझ नोटिस्डहुँदै गरेका कलाकार भइहाले। संयोग जुर्यो यी चारै कलाकारले एकै फिल्ममा अभिनय गर्ने। त्यही फिल्म ऐँचो पैँचै यी चारै कलाकारको अभिनय क्षमता जाँच्ने कडी समेत बनिदियो।
अचम्म के भने यो फिल्म रिलिज भएपछि स्वस्तिमा अनि मुकुन हैन वर्षा अनि सुशीलले प्रशंसा पाइरहेका छन्। दर्शकले फिल्ममा यी दुवै कलाकारलाई मज्जाले नोटिस्ड मात्र गरेनन् कि प्रशंसा नै गरिरहेका छन्। वर्षाबारे धेरैको प्रतिक्रिया सुनियो' गजबको अभिनय गर्न सक्ने रैछिन् त।' सुशीलले त चस्स चस्स मन छोयो नि भन्दैछन् दर्शक।
फिल्म रिलिज भएको दोस्रो दिन पनि अकुपेन्सी उत्साहजनक छैन। गदर-२ नै हाबी भइरहेको देखिन्छ हलहरूमा। उता एकै पटक मुकुनको अभिनय रहेको गणपति पनि रिलिज भएकाले त्यसको प्रभाव पनि पर्ने नै भयो ऐँचो पैँचोमा। अहिले वर्तमानमा चलिरहेको राजनीतिक परिवर्तनका लागि युवाको नेतृत्वको कथामा बनेको फिल्मको समग्र फिल्मबारे प्रतिक्रिया उत्साहजनक छैन।
तर सरप्राइज अभिनेत्री वर्षा अनि अभिनेता सुशीलको अभिनय नै हो। स्वस्तिमा अनि मुकुन छायामा पर्नु यी दुबैका लागि त्यति सुखद देखिँदैन। फिल्म फ्लप भए दोष स्वस्तिमा र मुकुनले पाउने जोखिम छ। हिट भए जस वर्षा अनि सुशीलले पाउने देखियो।
भदौ १५, २०८० शुक्रबार ११:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।