फिल्म ह्यासट्याग मायाका लागि जस्तो स्क्रिप्ट लेखिएको रियल लाइफमा त्यही घटना भएको सहायक निर्देशकको दाबी

फिल्म ह्यासट्याग मायाका लागि जस्तो स्क्रिप्ट लेखिएको रियल लाइफमा त्यही घटना भएको सहायक निर्देशकको दाबी

काठमाडौँ : फिल्म ह्यासट्याग मायाका कलाकार सारुक ताम्राकारको मृत्युपछि फिल्मका कलाकार अनि निर्माण टिमबाट अनौठा अन्धविश्वासका दाबी सार्वजनिक भयो। मध्यरात मसान घाटमा गएर तन्त्र पूजा गरेको सार्वजनिक भएपछि धेरैले विश्वास गरेनन्।

सारुकको परिवारले कालो बुटी भेटेकै थिए। फिल्मका निर्देशक दीपक गुरुङले आफूले पनि बुटी लगाएको पछि फालेको सार्वजनिक गरे।

अहिले पुन फिल्म निर्माण टिमका एक सदस्यले फिल्म ह्यासट्याग मायाको कथा जस्तो लेखिएको थियो वास्तविक जीवनमा त्यस्तै भएको दाबी गरेकी छिन्।

फिल्म निर्माणमा संलग्न शान्ति तामाङले यस्तो दाबी गरेकी हुन् जो यो फिल्मको सहायक निर्देशक हुन्।

छायाङ्कन हुँदाहुँदै कलाकार सारुकको मृत्युपछि फिल्म रोकियो। अब फिल्मको काम पुन सुरु हुने सम्भावना छैन। सायद त्यही भएर होला उनले टिकटकको सामूहिक कुराकानीमै फिल्मको कथा सार्वजनिक गरिन्।

'फिल्मको कथा जस्तो थियो, रियल लाइफमै त्यस्तै भएकाले हाम्रो निर्माण टिमका धेरै जना ट्रमामा छन्' उनले भनेकी छिन्।

तामाङका अनुसार फिल्ममा सारुक रिहानको भूमिकामा थिए भने अभिनेतृ नम्रता श्रेष्ठ मायाको भूमिकामा।

कथा अनुसार फिल्ममा रिहानले मायाको बलात्कार गर्छन्। माया न्यायका लागि प्रहरीकोमा जान्छन्। तर प्रहरी पैसामा बिकेर अनुसन्धान गर्दैनन्। मायाको पक्षमा विरोध प्रदर्शन हुन्छ। सामाजिक सञ्जालमा अभियान चल्छ #माया।
कतैबाट न्याय नपाएपछि मायाले रिहानको हत्या गर्छन्।

संयोग, फिल्मको त्यही बलात्कार सिन छायाङ्कनको क्रममा नम्रता र सारुकविच झगडा पर्छ। सुटिङ सक्काएर घर आएका सारुक मृत अवस्थामा फेला पर्छन्। फिल्मको स्क्रिप्टमा हत्या हुन्थ्यो। प्रहरीको अहिलेसम्मको अनुसन्धानमा आत्महत्या देखिएको प्रहरी भनाई छ।

'फिल्मको स्क्रिप्टमा जे छ वास्तवमा त्यही भएपछि हाम्रो प्रड्युसर शर्मिलाम्यामले प्रहरीलाई सर जे स्क्रिप्टमा थियो त्यही भएको हो अहिले भन्दा पुलिसले ए हो र, अनि पुलिसको के रोल थियो भनेर सोध्नुभयो। हामीले पैसामा बिकेको थियो भन्दा हाँसी राख्नु भा थ्यो।'

तामाङ यो फिल्मको असिस्टेन्ट डाइरेक्टर हुन्। सार्वजनिक भएको अडियोमा उनले जस्तो फिल्मको स्क्रिप्ट हो रियल लाइफमा पनि त्यही भएपछि फिल्म निर्माण युनिटका साथीहरू ट्रमामा गएको दाबी गरिन्।

सारुक आत्महत्या घटना लगत्तै त्यसका निर्देशक राजीव गुरुङले दोलालघाट लगेर तान्त्रिक पूजा गराएको, कालो बोको काटेको, कालो बुटी लगाइदिएको सार्वजनिक गरेका थिए।

प्रहरीले यो पूजामा संलग्न गुरु दाबी गर्नेसँग पनि बयान लिइसकेको छ। केही दिन अगाडि अभिनेत्री नम्रताले फेसबुकमा जस्टिस्सारुक लेख्दै तान्त्रिक पूजा लगायत झुटो भएको दाबी गरेपछि निर्देशक गुरुङले फेसबुकमा लेख्दै आफूसँग त्यसको प्रमाण भएको बताएका थिए।

तामाङको दाबी अनुसार फिल्म निर्माणको काम सक्किएको भए #माया रिलिज हुन्थ्यो। बिचैमा सारुकको मृत्युपछि अहिले सञ्जालमा #justicforsarukh चलिरहेछ।

भदौ १५, २०८० शुक्रबार ०१:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।