रेडियो नेपालमा गाउन नपाएको झोँकमा स्टुडियो खोलेका दीपको गीत राजाको भाषण चल्दाचल्दै देखाइयो
गायक, संगीतकार तथा रेकर्डिस्ट दीप तुलाधर ६५ वर्षअघि काठमाडौंको महाबौद्धमा जन्मिए। बाल्यकाल महाबौद्धको सेरोफेरोमै बित्यो। सफा काठमाडौं देखेका तुलाधरले थाहा पाउँदा यहाँ जंगलै जंगल थियो। घर अगगाडिको घण्टाघरदेखि भद्रकाली आसपास दिउँसै स्याल कराउँथ्यो।
कान्छो सन्तान दीप आमाबुवा अनि दाइदिदीको लाडप्यारमा हुर्किए। कक्षा ९ पढ्न बुवाआमासँग कलकत्ता गएका उनलाई त्यहिबीचमा गीतसंगीतमा रुचि बढ्यो। त्यहाँ उनी गितार र मुरली बजाउनुका साथै गाउँथे पनि।
२२/२३ वर्षको उमेरमा नेपाल फर्किएका उनले रेडियो नेपालमा गीत गाउनका लागि समय मागे, पाएनन्। त्यसले उनलाई निक्कै नराम्रो लाग्यो। त्यहि ‘इगो’ले उनी आफैँले रेकर्डिङ स्टुडियो खोल्ने सोचे अनि खाेले पनि।
स्टुडियो खोलेपछि उनी त्यसमै व्यस्त भए र अहिलेसम्म १४ हजारभन्दा बढी गीत रेकर्ड गरिसके। उनै गायक, संगीतकार तथा रेकर्डिस्ट दीप तुलाधरले आफ्ना जीवनका तीतामीठा अनुभव उकेरासँग यसरी साटे।
बाल्यकाल
दीपले थाहा पाउँदासम्म काठमाडौंमा पातला घरहरू थिए रे। स्याल कराएको सुनिने भएकाले त्यो बेलामा दिउँसै हिड्न पनि डर लाग्ने उनी बताउँछन्।
‘मैले थाहा पाउँदा काठमाडौंमा पालता घरहरू थिए। प्रज्ञाभवन आसपास कतै घरै थिएन। घण्टाघरदेखि भद्रकाली आसपासमा दिउँसै स्याल कराएको सुनिन्थोँ,’ उनले बाल्यकाल सम्झँदै भने, ‘हामीलाई बाटोमा हिड्न पनि डर लाग्थ्यो। किनभने जताजतै जंगलै जंगल थियो।’
महाबौद्धको गणेश मन्दिर वरपर बाटोमा गुच्चा, ह्वाग्रा(गुच्चा पालेर प्वाल प्वालमा पार्ने खेल) र चुरोटको बट्टाको तास खेलेको झलझली सम्झन्छन् दीप। अहिले उनी महाबौद्धबाट सरेर कमलपोखरी बस्न थालेका छन्। तर, पनि याद भने अझै आइरहने उनी बताउँछन्।
व्यापारी पुर्खा
दीपको पुर्खा नै व्यापारी। हजुरबुवा र बुवा व्यापारी भएकाले उनी पनि सानैदेखि त्यतै लागे। खेतीकिसानी गर्नुपरेन।
‘मैले थाहा पाउँदा बाउ बाजेहरू घरमा तुला खोजेर समानहरू किन्ने र बेच्ने गर्नुहुन्थ्यो,’ उनले भने, ‘सानो छँदा मैले पनि बुवा र दाजुहरूलाई व्यापारमा सघाउँने गर्थेँ।’
भोट र भारतबाट आउने हरेक सामानहरू तुलामा राखेर जोखेर किनबेच गर्ने चलन आफ्नो समुदायमा रहेको उनी बताउँछन्।
‘हाम्रो थरै त तुलाधर, जोखेर समानहरू बेच्ने। त्यो माला जस्तो यु आकारको विभिन्न सातुहरूले बनेको एक प्रकारको चिज हुन्थ्यो,’ उनी विगत सम्झँदै भन्छन्, ‘त्यो तिब्बतबाट हामीले ल्याउँथ्यौँ र यहाँबाट किनेर साउथ भारतीयहरूले लैजान्थेँ।’
दीपको परिवारको व्यापार काठमाडौंमा मात्र नभएर भारतको कलकत्तामा पनि थियो। चिनियाँ र दक्षिण भारतीय व्यापारीहरूको ट्रान्जिट प्वाइन्ट रहेको कलकत्तामा सामान किन्न र बेच्न आउनेहरू आफ्नैमा बसेर भोलिपल्ट छुट्टिने गरेको उनी सम्झन्छन्।
उनका अनुसार भारत जाँदा र आउँदा बाइरोडको बाटो हुँदै जानुपर्थ्यो। कोहि लहरी गाडीमा जान्थे भने कोही डोकोमा मान्छे बोकेर आउजाउ गर्ने गरेको उनलाई अझै सम्झना छ।
उनले भने, ‘त्योबेला बाइरोडको बाटो निकै चल्तीको थ्यो, त्यै बाटो हुँदै २५/२६ सालमा लहरी गाडीमा चढेर भारतको कलकत्ता आउजाउ गर्ने गर्थ्यौँ।’
कक्षा ६ सम्म भानुभक्त मेमोरियल स्कुलमा पढेका दीप ७ र ८ कक्षा भने पद्मोदय हाइस्कुलमा पढे। त्यसपछि भने बुबा आमासँग कलकत्ता गए र उतै स्नातकसम्मको अध्ययन गरे।
कलकत्तामा १२ कक्षाको परीक्षा दिएपछि दीप बिदाको समयमा बरालिँदै थिए।
बजारमा बेच्न राखेको मुरली किने र आफैँ बजाउन थाले। बजाउँदा बजाउँदै सुर बस्न थाल्यो। त्यहिबीचमा उनलाई गितार पनि सिक्न मन लाग्यो। भाइले बजाउन थालेको देखेपछि माइला दाइले गितार किनिदिएको उनी सम्झन्छन्।
नेपाली भाषीहरूको ठूलो बसोबास रहेको कलकत्तामै थिए दार्जिलिङबाट झरेका चर्चित संगीतकार रन्जित गजमेरको भतिज राजेन्द्र गजमेर। उनीसँग दीपको भेट भयो। दीपले उनीसँगै गीतार बजाउन सिके। त्यहिँबाट आफ्नो सांगीतिक यात्रा शुरू भएको दीपको भनाइ छ।
राजेन्द्र गजमेरसँगको भेटपछि कलकत्तामा भएका ठूला कन्सर्टमा गिटारिस्टका रूपमा आफू निकै चर्चित भएको उनी सुनाउँछन्।
झण्डै ५० वर्षअघिको प्रसङ्ग सम्झिए दीपले, ‘हाम्रो सेभेन स्टार भन्ने ब्याण्ड थियो। गुरु राजेन्द्रले कार्यक्रममा जता–जता भन्नुहुन्थ्यो, उतै गएर काम गर्न थालँे। मैले बेस हाल्न थाले, गुरु नभएको कार्यक्रममा लिड गर्न थाले।’
उनका अनुसार त्यतिबेला गीत गाउँदा पैसा पाइँदैनथ्यो। रहरै रहरले संगीतमा लागेकाले पैसाको त्यति आश पनि नलागेको उनी सम्झन्छन्।
‘अहिले त गीत गाउँदा राम्रै पैसा पाइन्छ नि हैन?’, उनी प्रश्न गर्छन्।
‘रेडियोमा गीत गाउन नपाएको इगोले स्टुडियो खोलेँ’
भारतमा गीत रेकर्ड गर्नसमेत सिकेका दीपलाई काठमाडौंमा रहेको रेडियो नेपालको स्टुडियोमा गीत गाउन चाहेका थिए। तर, पाएनन्।
‘जतिबेला मलाई गीत गाउन रहर लागेको थियो त्यति बेला रेडियो नेपालमा गीत गाउन निकै गाह्रो थियो,’ विगत सम्झँदै उनी भन्छन्, ‘नयाँ मानिसका लागि गीत गाउनका लागि त डेट पाउनै मुस्किल थियो। अनि मेरो मनमा इगो आयो। त्यसपछि आफैँले होम रेकर्डिङ स्टुडियो खोलेँ।’
दीपले ८० हजार खर्च गरेर गीत रेकर्ड गर्ने मेसिन किनेर ल्याए अनि आफ्नै घरको एउटा कोठाका भित्ताभरी अण्डाको क्रेटले बारेर बाहिरबाट पर्दाले छोपे। अनि बनाए ‘होम रेकर्डिङ स्टुडियो’। स्टुडियो बनाएको पहिलो पटकमै पाँचवटा गीत रेकर्ड गरेको उनी सम्झन्छन्।
कलकत्तामा रहँदा रेकर्डिङ स्टुडियोमा प्राविधिक तालिम लिएका उनले त्यहि ज्ञान र सीपको प्रयोग गरेर घरमै स्टुडियो खोले। उनले रेकर्ड गरेका गीत रेडियो नेपाल र नेपाल टेलिभिजनमा पुगेछ, त्यो देख्दा त्यहाँका कर्मचारी छक्क परेको उनी झलझली सम्झन्छन्।
त्यो समयमा उनको स्टुडियोमा गीत रेकर्ड गर्दा प्रति घण्टा २५० रुपैयाँ तिर्नुपर्थ्यो। तर, डिजिटल रेकर्डिङमा डिजिटल सिस्टमको आमगमनसँगै शुल्क बढाएर पाँच सय पुर्याएको उनी बताउँछन्।
उनका अनुसार रेडियो नेपालमा गीत गाउन नपाउने गायक गायिकाहरू आफूलाई खोज्दै आउने गर्थे। उनको त्यो सानो स्टुडियोमा गीत रेकर्ड गर्न तीन महिनासम्म कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
यहि स्टुडियोबाट उनको मिरमिरे व्याण्डले ‘सुनसान जीवन यो मेरो’, ‘नशा त्यो विष हो’, ‘मैले सपनामा कोरेका ती चिहानहरू’, ‘आँखैमा राखी’ लगायत गीत रेकर्ड गरेका थिए। यहि गीतलाई भिडियो बनाएर टेलिभिजनमा समेत बजाएको तुलाधर बताउँछन्।
त्यो समयमा सस्तो रहेको स्टुडियो चार्ज अहिले १०/१५ हजार रुपैयाँ पुगेकोमा उनी छक्क पर्छन्।
उनी भन्छन्, ‘जमाना त कहाँदेखि कहाँ आइपुग्यो।’
१४ हजार बढी गीत रेकर्ड
दीपले सांगितिक यात्रा थालेदेखि अहिलेसम्म १४ हजार भन्दा बढी गीत रेकर्ड गरिसकेका छन्। आफूले रेकर्ड गरेका गीतहरू हिट हुँदा उनी बडो आनन्दित हुन्छन्।
‘त्यो बेला संगीतकार शम्भुजित बास्कोटाको १० वटा गीतमा चार वटा जति मेरो भागमा पथ्र्यो। बाँकी भारतमा रेकर्ड हुन्थेँ,’ उनी भन्छन्, ‘आफूले रेकर्ड गरेका गीत हिट हुँदा बडो आनन्द आउने क्या!’
राजाको भाषणमा आफ्नो गीत बज्दा
नेपाल टेलिभिजन खुल्दा राजाहरूको कार्यक्रम नै त्यहाँबाट प्रसारण हुन्थ्यो। टेलिभिजनले गीतहरु कमै प्रसारण गथ्र्यो। एक दिन राजा वीरेन्द्रको लाइभ भाषणका बन्द भएपछि अचानक आफ्नो गीतहरू बज्न थालेको उनी सम्झन्छन्।
‘राजा वीरेन्द्र अमेरिका भ्रमण जानुभएको थियो। उहाँले अमेरिकामा गरेको भाषण टेलिभिजनबाट लाइभ दिने हल्ला चलेपछि अधिकांश मानिस टेलिभिजन सेटमा बसेर भाषण सुनिरहेका थियौँ। खै के भयो कुन्नी फ्याट्ट हाम्रा गीतहरू पो बज्न थाले। त्यसपछि हामी वान नाइट हिट भयौँ।’
गीत रेकर्डिङमा बस्दा दीपको गाउने कला भने छुट्यो। कलकत्तामै हुँदा र नेपाल फर्केपछि पनि गीत गाउँथे उनी। तर जब स्टुडियो खोले, त्यसपछि भने गीत रेकर्डिङका क्रममा खाने र सुत्ने फुर्सदसमे हुन छाड्यो अनि गाउनै छाडिदिए।
भदौ १४, २०८० बिहीबार १८:४५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।