फिल्म 'पशुपति प्रसाद-२ : भष्मे डन'मा दीपेन्द्र के खनालले गरेको मुर्ख्याइँ

फिल्म 'पशुपति प्रसाद-२ : भष्मे डन'मा दीपेन्द्र के खनालले गरेको मुर्ख्याइँ

काठमाडौँ : ३२ लक्षणलेयुक्त को हुन्छ र! यो त केवल काल्पनिक पात्रमा व्यक्तिले भरिदिए मात्र सम्भव हुन्छ। कला क्षेत्रमा त यो झन् लागु हुन्छ। जो मज्जाले नाच्न सक्छन् ती अभिनयमा झुर हुन सक्छन्। जो अभिनयमा बबाल हुन्छन् उनीहरूको कमजोरी नृत्यमा हुनसक्छ।

निर्देशकको जिम्मेवारी आफ्नो कलाकारको सबैभन्दा बलियो पक्षलाई प्राथमिकता दिने अनि कमजोरी छोपिदिने पनि हो। अभिनय गर्न नआउने कलाकारलाई 'हैन एक सट त खिचौँ न' भन्ने लोभ गर्नु या नृत्यमा कमजोर कलाकार जो अभिनयमा अब्बल छन् उनलाई 'हैन एउटा गीत त राख्नुपर्यो' भन्दै नचाउनु भनेको फिल्मलाई जोखिममा पार्ने सबैभन्दा झुर काम हो।

पशुपति प्रसाद-२ : भष्मे डन फिल्मको गीत 'दुई चुल्ठी बाट न' रिलिज भएपछि यसका निर्देशक दीपेन्द्र के खनालले यस्तै मुर्ख्याइँ गरेको देखियो। यो फिल्ममा विपिन कार्की, सौगात मल्लदेखि स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, आँचल शर्मा, रवीन्द्रसिंह बानिया लगायतका कलाकारको भिड लगाएका छन् निर्देशकले।

तर यो विपिनको क्यारेक्टरले डोमिनेट गर्ने फिल्म हो भन्ने त फिल्मको शीर्षकबाटै थाहा हुन्छ। विपिन अभिनयमा अब्बल कलाकार हुन् तर उनी डान्सिङ स्टार हैनन्। अभिनयमा कति बलियो छन् भन्ने धेरै फिल्ममा अभिनय गरेर पुष्टी गरेका उनी नृत्य विधामा कतिसम्म कमजोर रहेछन् भन्ने यही फिल्मले सार्वजनिक गरिदियो। 

बिहीबार रिलिज भएको गीतले भष्मे डन पशुपति क्षेत्रमा भइरहेको कुनै गीतको सुटिङ हेर्न जाँदा फ्ल्यासब्याकमा गएर त्यही गीतकी अभिनेत्रीसँग नाचेको कल्पनामा मग्न भएको देखाएको छ। यो गीतले फिल्मलाई कतिसम्म किरकिर गराउन सक्छ भन्ने पहिलो गीतले नै देखायो।

यो भष्मे डनको कथाको माग हैन भन्ने जुन सिक्वेलमा गीत राखिएको सार्वजनिक भयो त्यसले नै देखाउँछ। 'हैन एउटा गीत त राख्नै पर्यो नि फिल्ममा' भनेर जबर्जस्ती भष्मेलाई फ्ल्यासब्याकमा लगेर आँचलसँग नचाउनु बाहेक यो गीत कथासँग कतै कनेक्ट हुने देखिएन। 

विपिनलाई कमेडीपारामा दृश्यांकन गर्ने प्रयास गरिएको छ तर असफल। गीत सुमधुर छैन। न सङ्गीत, न लय नै सुन्नेको दिमागमा बसिहाल्छ। यसले फिल्म प्रमोसनमा सघाउँदैन। केवल फिल्मको माहौल मात्र बिगार्ने जोखिम बढ्छ। 

कलाकारको जसरी भिड लगाइएको छ उनीहरूलाई पनि यसरी नै छ्यास्स छ्यास्स सानो सानो रोलमा घुसाएको पोल पनि यही गीतले खोल्दियो। स्वस्तिमा देवीको अवतारमा रहेको त सुटिङकै बेलामा लिक भएको। यो गीतले उनी देवी बनेर आएर भष्मेसँग कुरा गर्ने त होला उही आँचलझैँ फ्लयासब्याकमा। सौगात पशुपतिमा बरालिने क्यारेक्टरमा त होलान्। अब बानियाँ त हनुमान भइहाले।

कला सम्बन्धी समाचारहरूमा यो फिल्मबारे केही लेख्दा 'बहुप्रतिक्षित फिल्म' भन्ने शब्द छुटेको छैन। रिलिजपछि चैँ' बहुप्रतिक्षित फिल्म जो फ्लप भयो' भन्ने हेडलाइन बन्ने जोखिम देखायो गीतले।

भदौ १४, २०८० बिहीबार १८:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।