भ्रष्टाचार र बेथितिको अन्त्य गर्न सरकार दृढ छ : प्रचण्ड

भ्रष्टाचार र बेथितिको अन्त्य गर्न सरकार दृढ छ : प्रचण्ड

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्।

नेपालीको मौलिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्राका अवसरमा शुभकामना दिंदै उनले मुलुकमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।

प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तन अनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गरे।

‘विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताए।

भदौ १४, २०८० बिहीबार १३:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।