पाकिस्तान विरुद्धको खेलबारे मोन्टी देसाइको प्रतिक्रिया : हामी ग्रोथका लागि आएका हौँ

पाकिस्तान विरुद्धको खेलबारे मोन्टी देसाइको प्रतिक्रिया : हामी ग्रोथका लागि आएका हौँ

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा नेपाल खेल सुधारका लागि आएको प्रतिक्रिया दिए।

नेपाल र पाकिस्तानको खेल सकिएपछि उनले पाकिस्तानसँग खेल्नु सुरुआत मात्र भएको बताए।

बुधवार एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३४ रनले पराजित भएको थियो।

खेल सकिएपछि पत्रकार सम्मेलनमा उनले यो सुरुआत मात्र भएको र अझै धेरै प्रतियोगिता खेल्ने टिमको चाहना रहेको प्रतिक्रिया दिए।

'हामीले के सिक्यौँ भन्ने कुरा मनन गर्न बाँकी नै छ।हामीले के–के राम्रो गर्यौँ भनेर देखाउन बाँकी छ।बलरले सुरुआत राम्रो गरे।

पाकिस्तानसँगको खेलमा फिल्डिङ केही निराशाजनक रह्यो,' देसाईले भने, 'यो स्टेजमा आएर क्रिकेटरको सपना हुन्छ, जुन आज सुरु भएको छ। यो हाम्रो सुरुआत हो, हामी यो स्तरमा अझै धेरै पटक खेल्न चाहन्छौँ।'
उनले नेपाली टिम अब भारत विरुद्धको खेलमा केन्द्रित रहेको र श्रीलङ्कामा भारत–पाकिस्तानको खेल हेर्ने मौका मिल्ने बताए।
'विश्वस्तरीय बलरविरुद्ध खेल्दा केही टेम्परमेन्टर र कम्पोजर आवश्यक हुन्छ। आशा छ, टिमले आजको खेलबाट सिकेर आगामी खेलमा अझ सुधारिएको प्रदर्शन देखाउनेछ।'

एसिया कपमा देखाउने प्रदर्शनका आधारमा नेपालले अबका दिनमा भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्न पाउने सम्भावना रहेको उनले बताए। अनुभवी खेलाडीबाट सिकेको कुरा आगामी खेलमा प्रयोग गरे खेलाडीले आफूमा इम्प्रुभ ल्याउन सक्ने उनको मत छ।

'हामी यहाँ ग्रोथका लागि आएका हौँ। यो मञ्चमा नेपाली क्रिकेटरले देखाउने कौशलले भारत ‘ए’, पाकिस्तान ‘ए’सँग खेल्ने अवसर मिल्नेछ, जुन नेपाली क्रिकेटको विकासमा अर्को प्लेटफर्म बन्नेछ।'

भदौ १४, २०८० बिहीबार १२:०६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।