महिला टी-२० विश्वकप छनोट : मलेसिया विरुद्ध ८४ रनमै समेटियो नेपाल
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली मलेसिया विरुद्ध ८४ रनमै समेटिएको छ।
राम्रो व्याटिङ गर्न नसकेको नेपालले पुरै २० ओभरको खेल खेले पनि गतिलो स्कोर खडा गर्न सकेन।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो।
नेपालका लागि सीता राना मगरले ५४ बल अविजित ३८ रन बनाइन्। यस्तै अपसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले गतिलो रन बनाउन सकेनन्।
बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई विकेट लिएकी थिइन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।
प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन्।
भदौ १४, २०८० बिहीबार १०:०१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।