किन मनाइन्छ जनैपूर्णिमा?

किन मनाइन्छ जनैपूर्णिमा?

काठमाडौं : हिन्दु धर्माबलम्बीहरूको एक महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। त्यसैले यो पर्व रक्षाबन्धन (डोरो) बाँधेर मनाइन्छ। ऋषितर्पणी पनि भनिने यस पर्वमा तागाधारीहरूले मन्त्रिएको पवित्र​​​​​​ काँचो धागोको जनै (यज्ञोपवित) धारण गर्छन्।

यसै दिनलाई राखीको दिन पनि भनिन्छ, जहाँ दिदीबहिनीले दाजुभाइको नाडीमा राखी वा पवित्र धागो बाँधेर सद्भाव आदानप्रदान गर्छन्। दाजुभाइले दिदीबहिनीलाई उपहार दिन्छन् र तिनको हेरचाह गर्ने कसम खान्छन्।

विष्णु पुराणमा यसै पूर्णिमाकै दिन विष्णु भगवानले हयग्रिव नामक दैत्यको विनाश गरी ब्रह्मालाई वेद फर्काइदिएको उल्लेख छ। यसै दिन वेदको रक्षा गरिएको हुनाले श्रावण शुक्ल पूर्णिमाको दिनलाई वेद जयन्तीका रूपमा पनि मनाइन्छ।

टाउको र घाँटी घोडाको जस्तो र शरीर मान्छेको जस्तो भएको हयग्रिवलाई मार्न विष्णुले योगमायाको शक्तिद्वारा उसकै जस्तो रूप लिएका थिए।

जनैपूर्णिमाको अवसरमा नेवार समुदायमा किसानहरूले भ्यागुतालाई विभिन्न खानेकुरा खुवाउने चलन छ। वर्षाका देवता मानिने भ्यागुतोलाई खान्की खुवाउन अर्थात् नेवारी भाषामा ‘ब्यांजा नकेगु’ भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मुला राखेर कृषकले आफ्ना खेतमा र अन्यले घरको दैलामा राख्ने चलन छ।

किन मनाइन्छ जनैपूर्णिमा?

जनैपूर्णिमा वा रक्षाबन्धन पर्व मनाउनुका पछाडि विभिन्न पौराणिक कथाहरू छन्। 

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधानद्वारा डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट नै रक्षाबन्धन चलेको धार्मिक विश्वास रहेको छ।

महाभारतको अर्को घटना छ। जब कृष्णले सुदर्शन चक्रद्वारा दमघोष र श्रुतशुभाका पुत्र शिशुपालको वध गरे, त्यतिबेला कृष्णको चोरी औंलामा चोट लागेको थियो। यसपछि द्रौपदीले आफ्नो साडीबाट रेशमको पट्टी च्यातेर कृष्णको नाडीमा बाँधेकी थिइन् ताकि युद्धको मैदानमा घाउबाट रगतको बहाव रोक्न सकियोस्। 

कृष्णले द्रौपदीलाई आफ्नो बहिनी सुभद्रा झैं ठान्थे। उनले धृतराष्ट्रको सभामा द्रौपदीको चीर हरण भइरहेका बेला आफ्नो शक्तिले कहिले नसकिने लामो साडी बनाइदिएर द्रौपदीको इज्जत बचाएका थिए।

त्यो गुन तिर्न पनि द्रौपदीले युद्ध मैदानमा कृष्णको रगत थाम्नको लागि आफ्नो साडी च्यातेकी थिइन्। त्यसबेलादेखि नै श्रावण पूर्णिमाका दिन दिदीबहिनी र दाजुभाइले सुरक्षाका लागि धागो बाँध्ने वा रक्षाबन्धन गर्ने चलन रहेको मानिन्छ।

रक्षाबन्धन यमराजलाई उनकी बहिनी यमुनाद्वारा गरिएको एक अनुष्ठानका रुपमा पनि लिइन्छ। जसबाट यम प्रभावित भएर उनको सुरक्षाको वचन दिएका थिए। यमकी बहिनीले यमलाई राखी बाँधेको हुनाले अमरता प्राप्त भएको मानिन्छ।

यसै पूर्णिमाका दिन भगवान गौतम बुद्धले आफ्नो काम शक्तिमाथि विजय प्राप्त गरेको प्रसंग बौद्ध ग्रन्थको ललित विस्तारमा भेट्न सकिन्छ।

के हो जनै?

हिन्दु धर्म मान्ने तागाधारी पुरुषले जिउमा लगाउने काँचो धागोबाट बनेको डोरो हो जनै। व्रतबन्ध गर्दा विधिपूर्वक गुरुबाट मन्त्र लिएर पहिलो पटक जनै धारण गरिन्छ। व्रतबन्धमा पुरुषलाई दीक्षा दिएपछि जनैले भक्ति पूर्वक धर्म र सत्यको मार्गमा लाग्न आदेश दिने मानिन्छ।

जनै बनाउने काम निकै कठिन मानिन्छ। सुरुमा काँचो धागो सँगालेर विभिन्न ३ विन्दुमा राखेर २७ फन्का लगाइन्छ। यसमा ३ सराको एउटा डोरो हुन्छ। जसलाई पुनः ३ सरा गराइन्छ र त्यसलाई पनि ३ सरा गरेपछि ३x३x३ बराबर २७ ससाना डोरोको एकमुस्ट रुप तयार हुन्छ। यो आधि जोर जनै हो। अर्को आधि जोर जोड गर्दा २७+२७ गरेर कुल ५४ सराको एक जोर जनाइ हुन्छ।

जनै पूर्णिमाको दिनमा पुरानो जनैलाई पवित्र ठाउँमा सेलाएर नयाँ मन्त्रिएको जनै लगाउने विधान छ। पूर्णिमाको एक दिन अगाडि जनै धारण गर्ने व्यक्तिले कपाल खौरेर वा काटेर, स्वच्छ भएर, व्रत बस्ने र भोलि पल्ट बिहान सबेरै स्नान गरि नयाँ जनै लगाउने परम्परा छ। रुद्राधिभिषेक गरि जनै मन्त्रिने गरिन्छ, यसपछि मात्र नयाँ धागो जनैमा परिणत हुन्छ

के हो रक्षाबन्धन?

रक्षा भनेको सुरक्षा गर्नु हो र बन्धन भनेको बाँध्ने काम हो। रक्षा गर्ने पवित्र रंगिन डोरो (धागो) हातमा बाँध्नु नै रक्षाबन्धन हो। मन्त्रिएको डोरो बाँध्नाले शक्ति, धन र खुसी मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ।

यस डोरोलाई तिहारको लक्ष्मी पूजाको दिनसम्म मानिसहरूले नाडीमा बाँधेर राख्छन् र गाई पूजा गर्दा गाईको पुच्छरमा बाँधिने प्रचलन छ। लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा डोरो बाँधेमा मृत्युपछि गाईको पुच्छरमा टाँसिएर वैतरणी नदी तर्न मद्दत हुन्छ भन्ने धार्मिक विश्वास छ।

डोरो बाँध्ने क्रममा पुरोहितले ‘जुन रक्षासूत्र (रक्षाबन्धन) दैत्यका राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दै छु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ’ भन्ने अर्थ रहेको मन्त्र उच्चारण गर्छन्।

यस दिन बिहान प्राय: पुरुषहरू नदी र पोखरीमा गएर स्नान गर्छन्। स्नान गर्दा पञ्चगव्य (दही, दूध, घिउ, गोबर र गउँत) र सप्तमृत्तिका-सात थरी माटो, अपामार्ग-एक प्रकारको दतिवन आदिको लेपन गर्ने गरिन्छ। यसरी गरिएको स्नानलाई श्रावणी स्नान पनि भनिन्छ। स्नान कार्य सम्पन्न भइसकेपछि तर्पण गरिन्छ। 

जनै पूर्णिमाको महत्वपूर्ण खान्की

जनैपूर्णिमाको दिन विभिन्न प्रकारका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेको पौष्टिक आहार ‘क्वाँटी’ खाने प्रचलन छ।नौ प्रकारका गेडागुडी जस्तै भटमास, मुगी, मास, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीलाई मिसाएर बनाइएको मिश्रण भनेकै क्वाँटी हो। 

क्वाँटी नेपाली भाषाको ‘क्वाती’ शब्दबाट बनेको हो। ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। 

क्वाँटी खानुका धेरै फाइदाहरू छन्। टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ। फाइबरले हाम्रो पाचन प्रणालीमा सुधार गर्छ भने क्यान्सर, मुटुरोग, मधुमेह जस्ता रोगमा फाइदा पुग्छ। तौल घटाउन पनि मद्दत पुर्याउँछ।

यसले कब्जियतको समस्या हुनेलाई राहत पुर्याउँछ। रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। रोगी, बालबालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सहयोग गर्छ। यसको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ, मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

क्वाँटीमा भिटामिन बी, सी, ई, क्याल्सीयम, फस्फोरस लगायतका खनिज पदार्थहरू यथेष्ट मात्रामा पाइन्छ।

क्वाँटी जनैपूर्णिमाको विशेष खान्की हो। क्वाँटी खाएमा वर्षायामभर खेतीजन्य काम गर्दा शरीरमा गडेको चिसो निक्लिने र भित्रदेखि नै तापको सञ्चार हुने बताइन्छ।

१४ भदौ, २०८०, ०९:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।