आज जनैपूर्णिमा मनाइँदै, गोसाइँकुण्डमा विशेष मेला

आज जनैपूर्णिमा मनाइँदै, गोसाइँकुण्डमा विशेष मेला

काठमाडौं : आज (बिहीबार) देशभर जनैपूर्णिमा पर्व मनाइँदै छ। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस जनैपूर्णिमा पर्व रक्षाबन्धन (डोरो) बाँधेर तथा तागाधारीहरूले नयाँ जनै धारण गरेर मनाउँदै छन्।

आजै तराई तथा मधेशमा भने दाजुभाइलाई दिदीबहिनीहरूले राखी बाँध्ने चलन पनि छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिका हिसाबले गाईजात्रा पर्व पनि आजै परेको छ। 

जनैपूर्णिमाका दिन विभिन्न किसिमका गेडागुडी भिजाएर बनाइएको क्वाँटी खाने प्रचलन छ। ​​​​​​

जनैपूर्णिमाकै अवसरमा आज  गोसाइँकुण्डमा विशेष मेला लागेको छ। गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।
               
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मेला भर्न अधिकांश भक्तजन बुधबार साँझ नै कुण्डस्थलमा बास बस्न पुगेका थिए। केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन्। 
             
गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूर्णिमाको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यता छ।

गोसाइँकुण्ड पुगेका भक्तजनलाई सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरेको छ।

भदौ १४, २०८० बिहीबार ०७:२७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।