सफल हुनुछ भने सपना देख्नुपर्छ, प्रतिस्पर्धासँग डराउनु हुन्न : एनसेल सिइओ जाब्बोर
काठमाडौँ : एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफल हुनु छ भने सपना देख्न सिक्नुपर्ने बताए। नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित ‘काठमाडौँ युथकन्क्लेभ २०८०’ मा सहभागी युवाहरू सम्बोधन गर्दै उनले युवाहरूले सपना देखे मात्र लक्ष्य पुरा हुनसक्ने बताएका थिए।
‘इन्स्पायरिङ यूथ, लिडिङ द नेसन’ विषय रहेको कार्यक्रममा १६ देखि २५ वर्ष उमेर समूहका पाँच हजार बढी युवाहरू सहभागी थिए।
जाब्बोरले कार्यक्रममा प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न युवाहरूलाई प्रोत्साहित गरेका थिए।
उनले भने, 'प्रतिस्पर्धाले तपाईँलाई राम्रो बनाउँछ। राम्रा प्रतिस्पर्धीहरूले तपाईँलाई अझ राम्रो बनाउँछन्।'
जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनुपर्ने बताएका थिए। अझ राम्रो गर्न चाहने हो भने सपना देख्नु पर्ने बताएका उनले भने 'आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ। त्यसलाई भिजुअलाइज गर्नुपर्छ।'
कार्यक्रममा प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टर सेफ सन्तोष शाह, ट्रेल रनर मिरा राई, ईसेवाका सिइओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दास लगायतका वक्ताहरू थिए।
'व्यक्तिगत रूपमा युवाहरूसँग जोडिन पाएकोमा र उहाँहरूको ऊर्जा देखेर म साँच्चै प्रेरित भएको छु। यस किसिमको सम्मेलनले युवा प्रतिभाहरूको प्रवर्द्धनमा सहयोग गर्ने एनसेलको प्रतिबद्धतालाई बढवा दिन्छ,' जाब्बोरले भने।
भदौ १३, २०८० बुधबार २०:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।