फिल्मसँग डराउने 'झ्यास' सरकार, माओवादी मतसँग बाझिँदा 'प्रकाश'लाई उत्कृष्ट फिल्मको अवार्ड दिइएन

फिल्मसँग डराउने 'झ्यास' सरकार, माओवादी मतसँग बाझिँदा 'प्रकाश'लाई उत्कृष्ट फिल्मको अवार्ड दिइएन

काठमाडौँ : माओवादी सशस्त्र द्धन्द्धसँग फरक मत राखेकै आधारमा जुरीहरूले उत्कृष्ट फिल्मका लागि चयन गरे पनि फिल्म प्रकाशले पुरस्कार पाएन।

मङ्गलवार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ आयोजना गर्यो जसमा पहिल्यै प्रकाश वर्षको उत्कृष्ट फिल्मको रूपमा चयन भइसकेको थियो। तर कार्यक्रममा त्यो विधाको पुरस्कार नै दिइएन।

गत वर्ष २०७९ वैशाखमा २०७६ र २०७७ सालको पुरस्कार तथा सम्मान प्रदान गरेको बोर्डले यसपटक २०७८ र २०७९ गरी दुई वर्षको अवधि भित्र सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू मध्येबाट छानेर विभिन्न विधामा राष्ट्रिय पुरस्कार दिएको थियो।

हरेक पटक ‘उत्कृष्ट फिल्म’को विधामा कुन चलचित्र पुरस्कृत हुन्छ भन्ने कौतुहलता हुनु स्वाभाविक हो। तर नायक अनि फिल्म निर्माता नै अध्यक्ष भएको बोर्डले यस पटक उत्कृष्ट फिल्म विधामा पुरस्कारै दिएन।

चलचित्र पुरस्कारको जुरी टिममा माओवादी केन्द्र निकट फिल्मकर्मी चेतन सापकोटा (निर्माता) थिए। उनकै जोडबलमा उत्कृष्ट फिल्मको रूपमा प्रकाशले पुरस्कार पाउने पक्का भएपछि विधा नै हटाउन लगाए।

जुरी टिमका संयोजक समेत रहेका राजेन्द्र शलभ कार्यक्रममा समेत गएनन्। समारोहमा किन नगएको भन्ने उकेराको प्रश्नमा उनले आफूलाई केही नसोध्न आग्रह गरे।

‘हिजोको विषयमा मसँग केही नसोध्नुहोस्,’उनले भने।

जुरीमध्येका एक शिवम् अधिकारीले प्रदर्शनमा आएका फिल्ममध्ये उत्कृष्ट भनेर राष्ट्रिय पुरस्कार दिन लायक फिल्म नभएकाले यस पटक यो विधामा पुरस्कार नदिएको दाबी गरे।

 ‘हामीले छानेका ५–६ वटा फिल्ममा उत्कृष्ट भन्न लायक फिल्म थिएनन्। त्यसैले फिल्मलाई नियम अनुसार नै उत्कृष्ट घोषणा नगरिएको हो।’

उनले बाहिर हल्ला भएजस्तो प्रकाश फिल्म उत्कृष्टमा छानिएपछि विधा नै हटाएको गलत भएको दाबी गरे।

‘बाहिर किन र कसले हल्ला गरिरहेको छ थाहा छैन। म एउटा जुरी भएको नाताले फिल्म ‘प्रकाश’लाई विभिन्न कोणबाट उत्कृष्ट फिल्म घोषणा लायक नै थिएन। हामीले यो फिल्मलाई उत्कृष्ट घोषणा गर्ने कि भनेर ४ पटक फिल्म हेरेका थियौँ तर, पुरै कालो र नमिल्दो भएको थियो र छनोटमा नपरेको हो’ उनले दाबी गरे।

तर, यही फिल्मबाट दिनेश राउतलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो भने दिया मास्केलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो।

सन् २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको पुरस्कारलाई अभिनेता सरोज खनालले कार्यक्रमबाट नै विरोध जनाएका थिए।

राष्ट्रपति भवनमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोह’मा अभिनेता सरोज खनालले शौचालयको कमोडमा बसेर खिचेको फोटो फेसबुकमा सार्वजनिक गरेका थिए। खनालले चार वर्ष अगाडि साङ्केतिक रूपमा जुन विरोध गरेका थिए त्यो मङ्गलवार पुष्टि भयो।

एउटा फिल्मले उठाएको विषयवस्तु सरकारको नेतृत्व गरिरहेको दलको सोच विपरीत हुँदैमा उ पुरस्कारबाटै हटाइयो।

यस अगाडि मदन भण्डारी दुर्घटनामा मारिएको दासढुंगा घटनाबारे दासढुंगा-२ फिल्म बनाउने प्रयास गर्दा चलचित्र विकास बोर्डले नै रोकेको थियो। स्क्रिप्टमा भण्डारीको दुर्घटनालाई हत्या भन्दै आएकी उनकी श्रीमती सत्ता शक्तिमा पुग्दा किन अनुसन्धान गर्न सकिनन् भन्ने प्रश्न उठाएकै कारण दासढुंगा-२ को टिमले फिल्म बनाउने अनुमति नै पाएन। निर्माण टिमले सो प्रोजेक्ट नै छाडिदियो।

भदौ १३, २०८० बुधबार १८:३६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।