ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ।

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पुरानो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गरिने बताए। 

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए।

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्न आग्रह गरे। 

ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसबाट जोगिन अनुकूल उपायको खोजी गरिरहेको बताए। 

बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका लागि नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार रहेको बताए। 

भदौ १३, २०८० बुधबार १६:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।