‘ह्यासट्याग माया’ का निर्देशक भन्छन् : ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेपछि ५ लाखको पुजा गराएको प्रमाण सुरक्षित छ
काठमाडौं : अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’का निर्माता तथा निर्देशक राजीव गुरुङ मौन थिए। फिल्मका मुख्य कलाकारको निधनपछि तनावमा रहेका उनले युटुबमार्फत आफुलाई अभिनेत्री नम्रता श्रेष्ठले ग्रहदशा विग्रिएको कारण तान्त्रिक पूजा गर्नुपर्ने र बोको काट्नुपर्ने भनेकाले सोही अनुसार आफुले पाँच लाख खर्च गरेको बताए।
अभिनेता ताम्राकारको निधन भएको झण्डै दुई महिना पछि अभिनेतृ श्रेष्ठले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै फेसबुकमा स्टाटस लेख्दै त्यसको खण्डन गरेपछि गुरुङले मुख खोलेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले फिल्म निर्माणका लागि फिल्मका मुख्य कलाकारले राखेका डिमाण्ड अनुसार ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुदै बुढानिलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पुर्ण खर्च आफै व्योहोरेको सार्वजनिक गरे।
कलाकारले क्यारेक्टरमा बस्न छुट्टै एकान्तमा घर आवश्यक रहेको भनेकाले आफुले ४५ दिनजतिका लागि घर भाडामा लिन मन्जुरी दिएको तर उनीहरुको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र भाडाकै घरमा बसिरहने रहेको उल्लेख गरेक छन्।
उनले कलाकारहरुकै मन्जुरीमा स्क्रिप्ट बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरिएको समेत खुलाएका छन्।
फिल्म अघि नबढेकाले नायिकाले आफ्नो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि आफु यो प्रयास पनि गरि हेरौ भन्ने मनस्थितिमा दोलालघाट पुगेको उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्,‘ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो। फलस्वरुप ५ लाख रुपैयाँको पूजा गराईएको हो। यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ। महिला भएकै कारण सधैं महिला ठीक र पुरुष भएकै कारण सधैं पुरुष बेठीक हुदैनन्। महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ति महिला हुन् स्वर्गिय सारुककी आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यहि तोडमा श्रीमानले पनि संसार छाडेपछि अथाह वेदनामा छिन्।’
उनले आफु र चलचित्रसँग जोडिएको हरेक व्यक्ति जुनसुकै समयमा सुचना र जानकारीका लागि उपस्थित भएको र सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर आफ्नै पहलमा प्रहरीले घर सिलका साथै केहि संकास्पद वस्तु लिएर गएको बताएका छन्।
उनले अगाडि लेखेका छन्,‘यसअघि नै त्यहाँबाट केही सामान ओसारिएको हामीले जानकारी पाएका थियौं। घटनाको वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ भनेर हामीले प्रहरीलाई पनि आफ्नो बयान दिईसकेका छौ। बारम्बार अनेकन बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिईएन भन्ने प्रश्नको जवाफ मैले पनि खोजिरहेको छु। मेरो सपना, लगानी र मिहिनेत सारुकको जीवनको अघि केहि होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ। सारुक भाईको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउनु पर्छ।’
उनले प्रहरीले समेत अनुसन्धानका क्रममा खुलेका कुराहरु सार्वजनिक गर्नुपर्ने माग राखेका छन्।
‘अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ। मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानुनले दिनेमा म आशावादी छु। सत्यको जीत होस् र कानुनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एकदिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु,’उनले लेखेका छन्।
अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’को निर्माण नहुने निश्चित भइसकेको छ। फिल्मको ४० प्रतिशत छायांकन सकिँदा ५ करोड खर्च भएको दाबी निर्माण पक्षले गर्दै आएको छ।
सारुक आत्महत्या प्रकरण
भदौ १३, २०८० बुधबार १४:१७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।