एसिया कपको असर : जनकपुरका विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न पालिकाको निर्देशन
काठमाडौं : जनकपुरधाम उप-महानगरपालिकाले दिउँसो २ बजेदेखि विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
एसिया कपको खेल्न गएको राष्ट्रिय टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेल प्रति उर्जावान भावना जागृत गराउनका लागि भन्दै उप–महानगरपालिकाले २ बजेदेखि विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई दिइएको निर्देशनमा भनिएको छ, ‘सीमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरूको निम्ति ठूलो गौरवको कुरा भएको हुनाले आज पाकिस्तानसँग एशिया कपको पहिलो खेल ३ बजेदेखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८० भदौ १३ गतेका दिन २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ।’
नेपालले बुधबार आफ्नो पहिलो एसिया कपको खेल आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ। पाकिस्तानविरुद्धको खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ।
त्यसअघि पौने तीन बजे नेपाली गायिका त्रिशाला गुरुङले पाकिस्तानी गायिका आइमा बेगसँग मिलेर सांगीतिक प्रस्तुति दिनेछिन्।
भदौ १३, २०८० बुधबार १४:०७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।