सर्पले डसेको बिरामीलाई झारफुक गरेर बस्दा मृत्यु

सर्पले डसेको बिरामीलाई  झारफुक गरेर बस्दा मृत्यु

बैतडी : बिषालु सर्पले डस्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पदंशबाट मृत्यु भएको हो। 

भान्सामा खाना पकाउने बेला सर्पले टोकेपछि गम्भिर घाइते भएकी उनलाई अस्पताल लग्नुको सट्टा निको पार्न भन्दै आफन्तले वैद्य बोलाउदा अकालमै ज्यान गुमाउनु परेको हो।

वैद्यले झारफुक गर्ने क्रममा  गएराति करिब १ बजेतिर उनको मृत्यु भएको स्थानीयले बताएका छन्। 

स्थानीय स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश सार्कीका अनुसार परिवारका सदस्यले नजिकै रहेको स्वास्थ्य चौकी नगइ झारफुकका लागि वैद्य बोलाएका थिए।

‘साँझ ७ बजे नै भान्सामा सर्पले टोकेको रहेछ। हामीलाई खबर नगरेर घरपरिवारले झारफुक गर्न बैधको पछि लागेका रहेछन्,’ उनले भने, ‘स्वंमसेविकाले पनि हामीलाई ढिलो खबर गरिन्। राति नै अस्पताल लगेको भए बचाउन सकिन्थ्यो।’

यसअघि  साउन  अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको  र  गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो।

भदौ १३, २०८० बुधबार १२:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।