एमसीसी आजदेखी कार्यान्वयनमा जादै, ५ वर्षमा काम सकिएन भने के हुन्छ?

एमसीसी आजदेखी कार्यान्वयनमा जादै, ५ वर्षमा काम सकिएन भने के हुन्छ?

काठमाडौं : अमेरिकी अनुदान परियोजना मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज देखि कार्यान्वयनमा जादैछ। 

बुधवार अर्थ मन्त्रालयमा आयोजना हुने एउटा कार्यक्रममा एमसीसीका उपाध्यक्ष क्यामरन एल्फर्डको उपस्थितिमा उक्त सम्झौता 'इन्ट्री इन टु फोर्समा' गएको घोषणा गरिनेछ।

सम्झौता पत्रमा हस्ताक्षर गर्न अमेरिकाबाट एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलबार नै नेपाल आइसकेका छन्।

यो परियोजनाले आगामी ५ वर्षमा नेपालमा प्रसारणलाइनसहित रणनीतिक सडक बनाउनेछ। यसका लागि ५० करोड अमेरिकी डलर र नेपालको सरकारको १३ करोड लगानी रहनेछ। 

यस्तै, ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलरसहित ६९ करोड ७० लाख डलर रहनेछ।एमसीसी परियोजनाले ३१५ किलोमिटर लामो प्रसारणलाईन निर्माण गर्नेछ। 

यसका लागि १० जिल्लामा १०४ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ। तर, हालसम्म ९ जिल्लामा मात्रै तथ्यांक संकलन भएको छ भने आवश्यक्ता अनुसारको जग्गा अधिग्रहण समेत भएको छैन।

नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौमा एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो। आजदेखि कार्यान्वयनमा जाने यो आयोजना २०८५ साल भदौ १३ भित्र सम्पन्न गरिसक्नुपर्छ ।

तीव्र विरोध र असन्तुष्टिका आवाज दवाउँदै कार्यान्वयनमा जान लागेको उक्त परियोजना समयमै सकिनेमा भने प्रशस्तै शंका उब्जिएका छन् ।

५ वर्षमा काम सकिएन भने के हुन्छ?

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माका अनुसार आजबाट लागु हुने गरी पाँच वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ। यदि काम सकिएन भने बचेको सहायता रकम फिर्ता जानेछ।

यसअघि परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी अन्तर्गतका प्रसारण लाइन र सडक निर्माणका कामहरू समयमै सम्पन्न गर्न नेपाल र अमेरिका दुवैको ठूलो प्रतिबद्धता रहेकोु भन्दै व्यवधान आउने सम्भावना आफूले नदेखेको बताएका थिए।

बीबीसीलाई दिएको प्रतिक्रियामा सोमवार काठमाण्डूस्थित अमेरिकी राजदूतावासले एमसीसीको कार्यान्वयनबारेका हालसम्मका प्रगतिलाई लिएर आफूहरू उत्साहित रहेको जनाएको थियो।

भदौ १३, २०८० बुधबार ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।