इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा व्यवसायीको आकर्षण, सय बढी कम्पनी सहभागी हुँदै
काठमाडौँ : नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायनसेस् तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा एक सय बढी कम्पनी सहभागी हुने भएका छन्।
मिडिया स्पेस सोलुसनस्, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेंट्स, एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
भदौ १५ बाट तीन दिन काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय बढी कम्पनीहरूको स्टल रहने आयोजकले जानकारी दिएको छ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
प्रदर्शनीमा विद्धुतिय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चारजिङ्ग स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको व्यवसायमा संलग्न कम्पनीहरू सहभागिता हुँदैछन्।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।
यी उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने प्रदर्शनीको लक्ष्य रहेको आयोजकले जानकारी दिएका छन्।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा युएसएड क्लियर एड/ एफएचआई३६० रहेका छन्। ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई कमर्स पार्टनरमा दराज रहेको छ।
तीन दिनेसम्म चल्ने प्रदर्शनीको उद्घाटन भदौ १५ गते बिहान ११ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गर्दैछन्।
भदौ १३, २०८० बुधबार ११:५२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।