एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दै नेपाल, त्यसअघि त्रिशाला गुरुङको सांगीतिक प्रस्तुति
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप डेब्यु गर्दैछ।
आईसीसी वरीयतामा पहिलो नम्बरको टोली पाकिस्तानसँग नेपालले डेब्यु खेल खेल्न लागेको हो। यो नेपाली क्रिकेटका लागि सबैभन्दा ठूलो अवसर हो।
पहिलो खेल नेपाली समयअनुसार सवा ३ बजे मुल्तान क्रिकेट स्टेडियममा सुरू हुनेछ। पाकिस्तानले यसअघि दुई पटक एसिया कपको उपाधि जितिसकेको छ।
उद्घाटन खेलअघि नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।
घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ। पाकिस्तानले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरू जितिसकेको छ।
आजको खेलका लागि पाकिस्तानले मंगलबार नै टोली घोषणा गरिसकेको छ। उसले पछिल्लो समय खेलको एकदिन अघि नै प्लेइङ ११ खेलाडी सार्वजनिक गर्न थालेको छ।
खेलअघिको पत्रकार सम्मेलनमा पाकिस्तानका कप्तान बाबर आजमले नेपाली टोलीलाई कमजोर नठानेको हो भने नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताए।
नेपालले गत मे १ तारिखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको हो। सो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो।
भदौ १३, २०८० बुधबार ०७:३६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।