उकेरा टप फाइभ : बागमतीका सञ्चार रजिष्ट्रारको नजरमा नेपाली मिडियादेखि ललिता निवासको किर्ते मुद्दा अदालतबाटै खारेज गराउने खेलसम्म

उकेरा टप फाइभ : बागमतीका सञ्चार रजिष्ट्रारको नजरमा नेपाली मिडियादेखि ललिता निवासको किर्ते मुद्दा अदालतबाटै खारेज गराउने खेलसम्म

काठमाडौं : मंगलबार प्रतिनिधि सभा बैठक बस्यो। बैठकमा केही नेपाल संशोधन विधेयकबारे विचार गरियोस् भन्ने प्रस्तावमा सांसदहरूले आ–आफ्नो धारणा राखे। विशेषतः बैठकमा सहभागी अधिकांश सांसदले छलफलका लागि दिइएको समय अपुग भएको र विधेयकमा भएका केही विषय अध्याधिक घातक रहेको बताए।

मंगलबार नै मन्त्रिपरिषद् बैठक बस्यो। बैठकले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गर्यो। यस्तै बैठकले नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णयसमेत भयो।

मंगलबार नेपाल पहिलोपटक सहभागी हुन लागेको एसिया कप क्रिकेटअघि दुवै टिमका कप्तानहरूको पत्रकार सम्मेलन भयो। पत्रकार सम्मेलनमा पाकिस्तानी कप्तान बाबर आजमले नेपाललाई कमजोर नठानेको बताए भने नेपाली कप्तान रोहित पौडेलले पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उडान सुरु गरेको समाचार लेख्यो। उडानको पहिलो दिन भने भैरहवाबाट नेपाल एयरलाइन्सले कुनै पनि यात्रु दुवै देश लैजान सकेन।
पूरा समाचारः भैरहवाबाट आजदेखि नेपाल एयरलाइन्सको हङकङ र दिल्ली उडान, पहिलो उडानमा कुनै पनि यात्रुले टिकट काटेनन्

बिहानै उकेराले सरकारी बेवास्ताले रूग्ण बन्दै २०६६ सालदेखि पूर्णरूपमा बन्द रहेको बुटवल धागो कारखानाले बुटवल औद्योगिक क्षेत्रलाई तिर्नुपर्ने बक्यौता रकम २ करोड बढी पुगेको समाचार लेख्यो। स्वदेशी कपास, स्वदेशी धागो र स्वदेशी सुतीको कपडा उत्पादन गरेर आत्मनिर्भर हुने योजनासहित २०३९ सालमा स्थापना भएको उद्योगले २०६४ सालदेखि भाडाबापतको रकम औद्योगिक क्षेत्रलाई तिर्न सकेको छैन।
पूरा समाचारः ५० उद्योग स्थापना हुने ठाउँ ओगटेर बसेको बुटवल धागो कारखाना, न सरकारले चलाउन सक्छ न हटाउन

उकेराले मंगलबार दिउँसो नियमित स्तम्भ चौथो अंगमा बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रेवती सापकोटाको सञ्चार क्षेत्रका अनुभव र उनको नजरमा नेपाली मिडियाबारेको धारणा लेख्यो। उनले विशेषत प्रादेशिक तहमा रिपोर्टिङ हुन नसकेको बताउँदै सम्पादकहरूलाई समेत संघीयताको मर्मबारे सिकाउनुपर्ने भएको बताए।
पूरा समाचारः चौथो अंगः सम्पादकहरूले सात प्रदेश छ भन्ने नै बिर्सिए, प्रादेशिक पत्रकारिता नै भएन

अपरान्ह उकेराले क्यान्सरको उपचारका लागि अत्यावश्यक भन्दै वीर अस्पतालले ३९ करोड ९० लाख खर्च गरेर किनेको ‘टोमोथेरापी’ मेसिन ६ वर्षपछि बल्ल अस्पतालमा आइपुगेको समाचार लेख्यो। मेसिन राख्ने ठाउँ नै नबनाई वीरका तत्कालीन निर्देशक डाक्टर भूपेन्द्रकुमार बस्नेतले हतारमा मेसिन किनेका थिए।
पूरा समाचारः अख्तियारको छानविन नटुङ्गिदै वीरमा आइपुग्यो ४० करोडको टोमोथेरापी, बदनियतपूर्ण खरिदमा संलग्न भूपेन्द्रलाई नै जस

राति उकेराले ललिता निवासको किर्ते मुद्दा अदालतबाटै खारेज गराउने खेल भएकोबारे समाचार लेख्यो। संगठित अपराधमा भनेर पक्राउ गरिएका प्रतिवादीहरूलाई ६० दिननै हिरासतमा राखेर २५ दिनमा दायर गर्नुपर्ने सरकारी कागजात किर्ते मुद्दा लगाउन लागिएपछि मुद्दा खारेज गराउने खेल भएको हो।
पूरा समाचारः ललिता निवासको किर्ते मुद्दा अदालतबाटै खारेज गराउने खेल!

भदौ १२, २०८० मंगलबार २२:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।