नेपालमा लगानी सुरक्षित रहेको भन्दै अध्यक्ष ढकालले लगानी ल्याउन हङकङका लगानीकर्तालाई आग्रह गरे
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा काठमाडौँमा आयोजित कार्यक्रमलाई बोल्दै उनले नेपालमा लगानी गरेर लाभ लिन विदेशी लगानीकर्ताहरूलाई आग्रह गरे।
नेपालमा लगानीका अधिक सम्भावना रहेको भन्दै उनले ऊर्जा,पर्यटन, निर्माण क्षेत्रमा राम्रो सम्भावना रहेको बताए।
‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरू छन्,' उनले भने' यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरूले लाभ पनि लिइरहेका छन्।’
ढकालले नेपालमा लगानीका सम्भावनाहरूसँगै लगानीको वातावरण पनि रहेको भन्दै विदेशी लगानीकर्तालाई लगानीको सुरक्षामा ढुक्क बनाउने प्रयास गरेका थिए।
नेपाल दुई ठुला र समृद्ध भारत र चीनको बिचमा रहेकाले लगानी र बजारको त्यति तै अवसर रहेको बताए।
अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरूको आगमनमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताएका थिए।
भदौ १२, २०८० मंगलबार २१:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।