१४ गतेबाट प्रज्ञामा वीपी र मदनले संवाद गर्ने!

१४ गतेबाट प्रज्ञामा वीपी र मदनले संवाद गर्ने!

काठमाडौं : वर्षैपिच्छ हुने ‘गाईजात्रा’मा हास्य कलाकारहरूले प्रज्ञा भवन र राष्ट्रिय सभा गृहमा व्यङ्यात्मक कार्यक्रम गर्दै आएका थिए। उनीहरूले राजनीतिक, सामाजिक र समसामयिक विषयमा प्रस्तुति दिँदै शब्दका तीखो वाण प्रहार गर्थे।

‘कोभिड १९’ संक्रमणपछि सरकारले निषेज्ञाषा गरेसँगै रोकिएको गाइजात्रा दुई वर्षपछि पुनः प्रज्ञा प्रतिष्ठानन फर्किने भएको छ, त्यो पनि नयाँ कलाकारहरूको साथमा।

मंगलबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा कलाकारहरूले भदौ १४ गतेदेखि १५ गतेसम्म प्रज्ञा भवनमा पाँच शो गाइजात्रा गर्न लागेको बताए। ‘८० सालको गाइजात्रा’ नाममा कलाकारहरूले मञ्चबाटै प्रत्यक्ष प्रस्तुति दिनेछन्।

कार्यक्रममा बोल्दै हास्य व्यङ्ग्य कवि शैलेन्द्र सिम्खडाले यसपटक आफूले केही फरक प्रस्तुति दिने बताए। २०३५ सालबाट गाइजात्रा हाँस्य प्रहसन थालेको स्मरण गर्दै उनले आफू चौधौँ पुस्तासम्म आइपुगेको दाबी गरे।

‘३५ सालबाट डवलीबाट गाइजात्रा थालेको थिए। ३७ सालबाट हलमा थालेको गाइजात्रा अहिलेसम्म पनि गरिरहेको छु,’ उनले भने, अहिलेको पछिल्लो पुस्तासम्म आइपुग्दा १४ औँ पुस्तामा आइपुगेको छु।’

अघिल्ला वर्ष डिजिटल प्रहसन गरेका उनले यसपाली हलमै गर्न पाउँदा अत्यधिक खुसी लागेको भन्दै उनले नेताहरूलाई सवक सिकाउनका लागि गाइजात्रामा राजनीतिक विषय उठान गर्ने गरेको बताए।

‘हामी सांस्कृतिक तरिकाबाट राजनितिक नेताहरूलाई सवक सिकाउन चाहान्छौँ,’ उनले थपे, ‘मेरो कर्मबाट कसरी पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा यसपटक गाइजात्रामा देखाउन आँटेका छौँ।’

अर्का हास्य कलाकार मनोज गजुरेलले पनि यसपटक फरक तरिकाको गाइजात्रा हुने दाबी गर्दै गाइजात्रामा यस वर्ष पनि आर्थिक मन्दी लागेको बताए।

उनले भने, ‘आर्थिक मन्दीका कारण यसपटक एक महिनाको चुलो बाल्नेसम्म मात्र खर्च गाइजात्राका कलाकारहरूले पाउनेछन्।’

गजुरेलले यसअघिका गाइजात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गोकुल बाँस्कोटासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत दुरुस्तै क्यारिकेचर गरेका थिए।

कोभिडको समयमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससको समेतको दुरुस्तै नक्कल गरेका उनले यसपाली उनको सँगै स्वर्गीय एमाले नेता मदन भण्डारी र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नक्कल गर्दैछन्।

गाइजात्रामा कलाकार चक्र दवाडी स्वर्गीय कांग्रेस नेता वीपी कोइरालाको भूमिका देखिँदैछन्। उनले अहिलेको कांग्रेसको बेथितिबारे व्यङ्ग्य गर्नेछन्।

कार्यक्रममा मनोज, चक्रसँगै शैलेन्द्र सिंखडा, सुवोध गौतम, टीका भण्डारी, सीता न्यौपाने, सुन्दर खनाल, प्रभात लामा लगायत ११ कलाकारले प्रस्तुति दिनेछन्।

जितु नेपालले आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’मार्फत दर्शकमाझ गाइजात्रा ल्याइरहेका छन्। भदौ ८ गतेदेखि नै उनको च्यानलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा–२०८०’ अपलोड हुन थालिसकेको छ।

भदौ १२, २०८० मंगलबार १९:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।