सांसदहरु भत्ता पचाएर हिँडेपछि संसदमा पुगेन गणपूरक संख्या, विधेयक निर्णयार्थ पेस हुन सकेन

सांसदहरु भत्ता पचाएर हिँडेपछि संसदमा पुगेन गणपूरक संख्या, विधेयक निर्णयार्थ पेस हुन सकेन

काठमाडौं : सांसदहरु एकपछि अर्को गर्दै बाहिरिएपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन।

आजको प्रतिनिधिसभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए। 

तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने बताए।

सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या नपुगेको पाइएको थियो।

संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। 

अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ। 

तर सभामुखको निर्देशनपछि गणना गर्दा ५९ जना सांसदमात्र उपस्थित भएको पाइएको थियो।

भदौ १२, २०८० मंगलबार १७:००:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।