बैतडी विमानस्थल बन्द हुँदा स्थानीयलाई समस्या, करोडौंका संरचना प्रयोगविहीन

बैतडी विमानस्थल बन्द हुँदा स्थानीयलाई समस्या, करोडौंका संरचना प्रयोगविहीन

बैतडी : बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्यामा परेका छन्। गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका छन्। 

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट  कुनै उडान हुन सकेको छैन।

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रु १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन्।

यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। भाडा महँगो भएकै कारण यात्रुहरू पाउन मुस्किल भएको र भाडा नघट्दासम्म उडान हुने सम्भावना कम रहेको उनले जानकारी दिए।

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा रु तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने बढेर रु पाँच हजार पुगेको थियो।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै  विमानस्थल बन्द भएको हो।

भदौ १२, २०८० मंगलबार १३:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।