भैरहवाबाट आजदेखि नेपाल एयरलाइन्सको हङकङ र दिल्ली उडान, पहिलो उडानमा कुनै पनि यात्रुले टिकट काटेनन्

भैरहवाबाट आजदेखि नेपाल एयरलाइन्सको हङकङ र दिल्ली उडान, पहिलो उडानमा कुनै पनि यात्रुले टिकट काटेनन्

बुटवल : मंगलबार (आज)देखि नेपाल एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उडान सुरु गरेको छ।

उडानको पहिलो दिन भने भैरहवाबाट नेपाल एयरलाइन्सले कुनै पनि यात्रु दुवै देश लैजान सकेन। नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्रै बुकिङ खुल्ला गरेको थियो। मंगलबारको पहिलो उडानमा कुनै पनि यात्रुले टिकट नकाटेको नेपाल एयरलाइन्सले जनाएको छ। 

नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले आज ट्रान्जिट भएर जाने यात्रु नभएको बताए।

‘हिजोदेखि मात्र बुकिङ खुला भयो। तर टिकट काट्ने यात्रु हुनु भएनन्। सिस्टमले समेत केही समस्यामा पारेको छ। अहिले पनि सिस्टम खुलेको छैन। अर्को हप्तादेखि यात्रु आउनुहुन्छ भन्ने आशा गरेका छौ,’ उनले भने।

उनले छोटो समयमा टिकट बुकिङ खुला भएको र प्रचारप्रसार पनि कम हुँदा यात्रु नआएको हुन सक्ने बताए। ‘चासो धेरैले देखाउनुभएको छ। यसबाट हामी उत्साहित छौं। यात्रुले सहजताका साथ सेवा पाउनुहुन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छौं,’ उनले भने।

नेपाल एयरलाइन्सले टिकट खुला गर्दा दिल्लीका लागि अनलाइन बुकिङ देखाएको भए पनि हङकङको उडानको बुकिङ भने सिस्टमले देखाएको थिएन।

‘सिस्टम सबै काठमाडौंबाट अपग्रेड भइरहेको छ। हाम्रो हातमा पनि अहिले सिस्टम छैन। छोटो अवधि राखेर टिकट खुला गर्दा केही अप्ठ्यारो भएको हो। आउने हप्ता देखि यो समस्या हुँदैन,’ उनले भने।

लोहनीका अनुसार भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली जाँदा काठमाडौंमा जाने भाडादरमा थप २ हजार शुल्क यात्रुले तिर्नुपर्छ। 

भैरहवाबाट अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् भदौ १९ गते हुनेछ। सो दिनको लागि आजको मितिमा टिकट बुकिङ गर्दा काठमाडौंबाट हंङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५५१ तोकिएको छ। त्यसमा २ हजार थप गर्दा ५३ हजार ५५१ भैरहवा–हङकङको भाडादर हुन आउने उनले बताए।

त्यस्तै विजनेस क्लास टिकटको १ लाख १ हजार १४ रूपैयाँ छ। भैरहवाबाट उडान गर्दा यसमा पनि २ हजार थप भएर १ लाख १ हजार १४ रूपैयाँ हुनेछ।

सेप्टेम्बर ५ कै लागि काठमाडौंबाट दिल्ली उडान गर्दा इकोनमी क्लासको भाडादर ११ हजार २२७ रहेको छ। भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर उडान गर्दा १३ हजार २२७ रूपैयाँ लाग्ने उनले बताए।

हरेक मंगलबार बिहान नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौं जाने गर्दछ। भैरहवामा यात्रु झरेपछिको खाली सिटमा दिल्ली र हंङकङ जाने यात्रु राखिने नेपाल एयरलाइन्सले जनाएको छ।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि काठमाडौं ट्रान्जिट भएर अब हरेक मंगलबार दिल्ली र हङकङ नियमित उडान सुरु गर्ने नेपाल एयरलाइन्सले जनाएको थियो।

भदौ १२, २०८० मंगलबार ०९:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।