५० उद्योग स्थापना हुने ठाउँ ओगटेर बसेको बुटवल धागो कारखाना, न सरकारले चलाउन सक्छ न हटाउन

५० उद्योग स्थापना हुने ठाउँ ओगटेर बसेको बुटवल धागो कारखाना, न सरकारले चलाउन सक्छ न हटाउन

बुटवल : सरकारी बेवास्ताले रूग्ण बन्दै २०६६ सालदेखि पूर्ण रुपमा बन्द रहेको बुटवल धागो कारखानाले बुटवल औद्योगिक क्षेत्रलाई तिर्नुपर्ने बक्यौता रकम २ करोड बढी पुगेको छ।

स्वदेशी कपास, स्वदेशी धागो र स्वदेशी सुतीको कपडा उत्पादन गरेर आत्मनिर्भर हुने योजनासहित २०३९ सालमा स्थापना भएको उद्योगले २०६४ सालदेखि भाडाबापतको रकम औद्योगिक क्षेत्रलाई तिर्न सकेको छैन।

बुटवल औद्योगिक क्षेत्र भित्रको १४३.०६ रोपनी क्षेत्रफलमा फैलिएको धागो कारखानाले बुटवल औद्योगिक क्षेत्रलाई २ करोड ४८ लाख ३६ हजार रूपैयाँ भाडा तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख प्रकाश अधिकारीले अहिले पनि लेखामा धागो कारखानाले तिर्नुपर्ने बक्यौता रकम बाँकी देखिने गरेको बताए। उद्योग बन्द भए पनि यसले तिर्नुपर्ने रकम कानुन र नियम अनुसार बक्यौताको रुपमा देखिएको उनले बताए।

धागो कारखाना सञ्चालनपछि यसको व्यवस्थापन, सञ्चालनका लागि छुट्टै समिति समेत बनेको थियो। ‘नियम अनुसार समयमा रकम नबुझाएमा जरिवाना लाग्ने व्यवस्था समेत छ। उल्लेखित बक्यौता रकम जरिवानाबिनाको हो,’ उनले भने।

२०४८ देखि व्यावसायिक धागो उत्पादन सुरु गरेको बुटवल धागो उद्योग कमजोर व्यवस्थापनले स्थापना कालदेखि नै नाफामा जान सकेन। चल्दै बन्द हुँदै गर्दा २०६६ सालबाट पूर्ण रुपमा बन्द भएको उद्योगलाई बेला बेलामा सरकारले सञ्चालन गर्ने समेत बताउँदै आएको छ।

कार्यालय प्रमुख अधिकारीले संघिय सरकारले बन्द उद्योग सञ्चालन गर्न सक्ने भनेको र यदि उद्योग सञ्चालन भएको अवस्थामा तिर्नुपर्ने बक्यौता बापतको रकम बुटवल औद्योगिक क्षेत्रलाई दिनुपर्ने बताए।

‘बक्यौतामा उठ्न देखिएको छ। यो खारेज भएको भए सरकारले नै केही निर्णय गरेर यसको समाधान निकाल्ने थियो होला। यदि उद्योग चलेन र लिलामीमा गयो भने बक्यौता रकम औद्योगिक क्षेत्रले लिन्छ,’ उनले भने।

कारखाना बन्द हुँदा ६ वटा भवन सहितको जग्गा बेवारिसे छ।

उद्योगीहरूले सरकारले धागो कारखाना सञ्चालन गर्नुपर्ने नभए सो क्षेत्रमा पनि उद्योग स्थापना गर्न दिनुपर्ने माग गरिरहेका छन्। धागो कारखाना सञ्चालन बारे सरकारको स्पष्ट नीति नहुँदा उद्योगीहरूले मागे अनुसार जग्गा प्राप्त गर्न सकेका छैनन्। धागो कारखानाले ओगटेको जग्गा पनि उपयोग विहीन जस्तै बनेको छ।

कार्यालय प्रमुख अधिकारीले उद्योगीहरूले उद्योग विस्तारका लागि जग्गा माग गरे पनि दिन नसकिएको बताए। ‘उहाँहरूको माग छ। तर सीमित क्षेत्रफल भएकाले दिन नसक्ने अवस्था छ। धागो कारखानाको जग्गा यत्तिकै छ। त्यस बारे सरकारले नै निर्णय गर्नुपर्छ,’ उनले भने।

यदि सरकारले धागो कारखाना खारेज गरेर सो स्थानमा नयाँ उद्योग सञ्चालन हुने अवस्था आए त्यहाँ ५० उद्योग स्थापना हुन सक्छन्। राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान दिने उद्योगहरू अहिले पनि बुटवल औद्योगिक क्षेत्रभित्र छन्।

विद्युतमा सहुलियत, जग्गाको भाडादर पनि न्यूनतम् भएकाले पनि उद्योगीहरूको रोजाई औद्योगिक क्षेत्र पर्ने गरेको छ। तर सीमित क्षेत्रफल मात्र उद्योगीले पाउँदा कतिपय उद्योगहरूले तयार भएका वस्तुहरू सडक क्षेत्र भित्रै राख्नुपर्ने वाध्यता छ।

‘२२८ रोपनीमा अहिले ७० उद्योग छन्। यदि धागो कारखाना भएको स्थानमा उद्योग स्थापना गर्न पाए त्यहाँ ५० साना प्रकारका उद्योग सञ्चालन गर्न सकिन्छ,’ अधिकारीले भने।

संघीय सरकार र प्रदेश सरकारको समेत बन्द उद्योग सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा प्राथमिकतामा परे पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन।

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा बुटवलको धागो कारखानालाई उपयुक्त ढाँचामा चलाउने बताएको थियो। २०८०/०८१ मा पनि बन्द उद्योग सञ्चालन गर्ने सरकारले बताइरहेको छ।

यहाँका उद्योगी, व्यवसायी नीति तथा कार्यक्रमको प्राथमिकतामा बन्द उद्योग सञ्चालन गर्ने विषय प्राथमिकतामा परे पनि उद्योग सञ्चालनको ठोस योजना सरकारसँग नभएको बताउँछन्।

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले सरकारले धागो कारखाना चलाउने आँट र जाँगर नगरेको र सरकारले नै नचाहेकोले अहिले उद्योग थला परेर माथि उठ्न नसकेको बताए।

‘यो चल्नुपर्छ। उद्योग चलेमा मात्र यसले आयात प्रतिस्थापन गर्न सक्छ। रोजगारी सिर्जना गर्न सक्छ। त्यसैले सरकारले कुन मोडलबाट चलाउनुपर्ने हो, चलाउनुपर्छ,’ उनले भने।

सहज छैन सञ्चालन

उद्योगको भवन भित्र ५६ वटा धागो बनाउने मेसिन छन्। उक्त मेसिनबाट २५ हजार ८८ धागो काट्ने स्पीन्डल क्षमता छ।

लामो समय देखि उद्योग बन्द भएका कारण मेसिन कामले काम गर्न सक्दैनन्। अहिलेकै अवस्थामा मेसिन मर्मत गरेर केही चलिराखे पनि लागत अनुसारको प्रतिफल दिन सक्दैनन्। बजारमा प्रतिस्पर्धा गर्न कठिन पर्छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु सरकारले उद्योग सञ्चालन गर्ने भए नयाँ मोडलका मेसिनहरू ल्याएर सञ्चालन गर्नुपर्ने बताउँछन्। 

बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माले यदि सरकारले कारखाना चलाउने हो भने सबै मेसिनहरू खरिद गर्नुको विकल्प नभएको बताउँछन्। 

‘नयाँ मेसिन थप गर्ने, यी पुराना मेसिनको मर्मत गर्ने र स्पीप पनि बढाउन पर्छ। त्यतिले मात्र हुँदैन। कपडा बुन्ने मेसिन पनि ल्याएर चलाउन सकेमा मात्र कारखाना चल्न सक्छ,’ उनले भने।

उद्योग स्थापना कालमा नेपालगन्जमा कपास खेती, बुटवलमा धागो र त्यही धागोले हेटौंडा कपडा कारखानाबाट कपडा उत्पादन गर्ने योजना सरकारको थियो। तर अहिले कपास उत्पादन पनि बन्द छ।

धागो कारखाना सञ्चालन भइहाले कपास पनि उत्पादन गर्नुपर्ने हुन्छ। त्यसका लागि ठाउँको व्यवस्थापन गर्नुपर्ने हुन्छ। विगतमा धागो कारखाना स्थापना हुँदा नेपालगन्जको खजुरामा कपास खेती हुने गर्दथ्यो। 

किन बन्द भयो उद्योग?

बुटवल धागो कारखाना  वि.स. २०३९ सालमा सरकारी र निजी पुँजीबाट स्थापना भएको थियो। नेपाल सरकार, खेतान समूह, साल्ट ट्रेडिङ, वीरगन्ज चिनी, हिमाल सिमेन्ट, जनकपुर चुरोट, एनआईडीसी र पब्लिक सेयरबाट उद्योग स्थापना भएको हो।

उद्योगमा नेपाल सरकारको ७८ प्रतिशत र बाँकी साल्ट, खेतान, एनआईडीसी र पब्लिकको गरी २२ प्रतिशत सेयर थियो। स्थापना कालमा उद्योगको अधिकृत पुँजी ६० करोड, जारी पुँजी ४५ करोड र चुक्ता पुँजी ३७ करोड थियो। त्यस मध्ये ३ करोड पब्लिक पुँजी थियो।

२०४८ सालमा उद्योगले उत्पादन सुरु गर्यो। तर उद्योग राम्रोसँग चल्न सकेन। देशमा लोडसेडिङ थियो। २४ घण्टा चल्नुपर्ने उद्योग मुस्किलले ८ घण्टा चल्न थाल्यो। उद्योगको व्यवस्थापनमा राजनीतिक हस्तक्षेप बढ्न थाल्यो। विभिन्न मागका नाममा सरकार र कर्मचारी बीच द्वन्द्व सुरु भयो। 

उद्योगले उत्पादन कम गर्ने तर उद्योगमा लागत बढ्दै जाँदा उद्योगले ऋणको भार बोक्यो। कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा कारखाना पुगेको थियो।

कारखानाले आफ्नो लय गुमाएपछि २०६० सालमा साल्ट ट्रेडिङलाई सरकारले लिजमा दियो। तर एक वर्षमै साल्ट ट्रेडिङले उद्योग चलाउन नसक्ने भन्दै पछि हट्यो।

त्यसपछि कारखानाको व्यवस्थापन एलाईड इन्भेस्टमेन्ट (रिलाईन्स ग्रुप) ले लियो। उसले २०६४ फागुन सम्म चलायो। तर उद्योग ऋणबाट माथि उठ्न सकेन। अनि २०६६ असोज  १ गतेदेखि सबै मजदुरहरूलाई अनिवार्य अवकाश दिएर उद्योग बन्द भयो।

भदौ १२, २०८० मंगलबार ०८:४०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।